नेकपाद्वारा क्रान्तिकारी माओवादीसँगको एकतामा आशंका, तत्काल पार्टी एकताको आधार नबनेको ठहर

नेकपाद्वारा क्रान्तिकारी माओवादीसँगको एकतामा आशंका, तत्काल पार्टी एकताको आधार नबनेको ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ असोज २०७४
  • 10.8K
    Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता हुने चर्चा चलिरहेको बेला ती दुई पार्टीबीच तत्काल पार्टी एकीकरण नहुने सँभावना बढेर गएको छ । ती दुई पार्टीबीचको पार्टी एकीकरणका बारेमा नेपाल कम्युनिष्ट पार्टीको पोखरामा सम्पन्न पाँचौं पूर्ण केन्द्रीय समिति बैठकमा छलफल भएकोमा तत्काल पार्टी एकीकरण हुने सम्भावना कम रहेको निष्कर्ष निकालिएको प्राप्त समाचारमा जनाइएको छ । बैठकले ती दुई पार्टी एकीकरणका बारेमा शंका प्रकट गरेको बताइएको छ । बैठकले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने निर्णय गरेपनि विचार र चिन्तनमा मोहन वैद्य “किरण”मा संकीर्णता, रुढीवाद जब्बर रहेकाले तत्काल पार्टी एकताको आधार नबनेको ठहर गरिएको छ ।
राष्ट्रियस्तरका भ्रष्टाचारीहरुको घर घेर्ने कार्यक्रम पनि नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको छ । नेपाल कम्युनिष्ट पार्टीको घेराउको सूचीमा रहेका भ्रष्टाचारीहरुमा नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फछ्र्र्यौट आयोगका निलम्वित प्रमुख चुडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरी केबुलकारका मालिक चन्द्र ढकाल लगायत रहेको प्राप्त समाचारमा जनाइएको छ ।
बैठक सम्पन्न भएपश्चात् नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरहीले दिएको जानकारी अनुसार, नेपाल कम्युनिष्ट पार्टीले सरकारद्वारा घोषित राज्यसभा र संसदको चुनाव खारेज गर्ने औपचारिक निर्णय पनि गरेको छ । असोज २१ देखि २३ गतेसम्म चलेको सो बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान शुरु गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार