रुट ईजाजतको पर्खाइमा विन्ध्यावासिनीका २७ वटा बस, पुरानो समितिको विरोध, पुनःटकराबको संकेत

रुट ईजाजतको पर्खाइमा विन्ध्यावासिनीका २७ वटा बस, पुरानो समितिको विरोध, पुनःटकराबको संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ साउन २०७३
  • 17.3K
    Shares

पोखरामा नयाँ र पुराना यातायात ब्यवसायीको टकराब पुन: सुरु हुने संकेत देखिएको छ । ६ महिनाअघि पोखरा नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको नयाँ विन्ध्यावासिनी यातायात बस ब्यवसायी समितिका थप बस गुड्न तयार भएपछि पुरानो समिति पुन: आन्दोलित भएको छ ।

नयाँ समितिका थप बस रुट इजाजतको प्रक्रियामा गएपछि पोखरा बस ब्यवसायी समितिले विरोध जनाएको हो । समिति अन्तर्गतका ब्यवसायी आईतवार घेराउ गर्न पुगेपछि यातायात ब्यवस्था कार्यालय दिनभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा घेरामा रह्यो । कार्यालय प्रमुख भरत पौडेल कार्यालयमा उपस्थित नभएपछि ब्यवसायी साझ फर्किए ।

नयाँ समितिले थप बसको रुट ईजाजत पाए आफ्नो समिति अन्तर्गत नयाँ बसले पनि रुट ईजाजत पाउनुपर्ने उनीहरुको अडान छ । त्यस्तै समस्या समाधानको लागि यसअघि भएको सहमति कार्यन्वयन गर्न उनीहरुले आग्रह गरेका छन् ।

नयाँ समितिले गत बर्षको माघ १८ गते रुट ईजाजत प्राप्त गरी २२ गतेदेखि नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको थियो । विरोधमा उत्रिएका पुराना ब्यवसायी चार वुदे सहमतिको आधारमा नयाँ समितिको बस सञ्चालन गर्न दिन राजी भएका थिए ।

फागुन ६ गते नयाँ र पुराना यातायात ब्यवसायी वीच प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको समन्वयमा प्रमुख दलका जिल्ला स्थित नेता एबं सर्वपक्षीय छलफलपछि चार वुदे सहमति भएको थियो । सहमतिको चौथो बुदामा उल्लेख कार्यदल गठनको विषय कार्यन्वयन नभई नयाँ बस आउन लागेको भन्दै पुराना ब्यवसायी आन्दोलित भएका हुन् । पोखरामा थप गाडी सञ्चालन गर्न मिल्ने नमिल्ने अध्ययनको लागि कार्यदल गठन गर्ने र सो कार्यदलले दिएको सुझावको आधारमा अघि बढ्ने सहमति भएपनि कार्यन्वयन नभएको उनीहरुले बताए ।

नयाँ समिति अन्तर्गतका २७ वटा बस अहिले गुड्नको लागि तयारी अबस्थामा छन् । बस शुभजगदम्बा आयल स्टोर परिसरमा छन् । ‘नयाँ गाडी तयार भएको २० दिन कट्यो, ’ विन्ध्यावासिनी यातायात बस ब्यवसायी समितिका सचिव रामचन्द्र अधिकारीले भने ‘बस तयार हुनासाथ यातायात कार्यालयमा रुट ईजाजतको लागि पेश भएको निवेदन अघि बढ्न सकेको छैन । ’

तीन वटा छुट्टा छुट्टै कम्पनीको ३२ सिटे बस समितिको नाममा नामसारी भैसकेको र रुट ईजाजत पाए गुड्नको लागि तयार रहेको उनले बताए । नयाँ स्वराज, टाटा र महेन्द्रा तीन कम्पनीका बस हुन् । उनका अनुसार नयाँ बसमा प्रतिबस झण्डै ३६ लाखको दरले ९ करोड ७२ लाख भन्दा बढी लगानी छ । निकट भविश्यमै पोखराको सडकमा समिति अन्तर्गतका ४० वटा बस गुडाउने तयारी रहेको अधिकारीले बताए । ‘ २७ वटा बस गुड्नको लागि तयार छन् र थप १३ वटा तयार हुदैछन् ’ उनले भने ।

तर पोखरा बस ब्यवसायी समितिले भने नयाँ बस थप हुन लागेकोमा विरोध जनाएको छ । समितिका सचिव अमृत शर्मा तिमल्सिनाले आफुखुसी बस थप्दै गए पोखराको यातायात ब्यवस्थापनमा चुनौती थपिने बताए । ‘ पोखरा बसले नयाँ गाडीको लागि रुट ईजाजत माग्दा विस्थापनमा जान बाध्य पारियो, ’ उनले भने ‘ यदि नयाँ बस थपिन्छ भने हामीले पनि थप्छौ । ’ पोखराको यातायात ब्यवस्थापनको लागि यसअघि भएका सहमति कार्यन्वयन हुनुपर्ने उनले बताए ।

पोखरा बस अन्तर्गत अहिले २५१ सवारी छन् । त्यसमध्ये २३ वटा ग्रामिण क्षेत्रमा चल्छन् भने बाँकी पोखरा नगर क्षेत्रमा आलोपालो चल्दै आएका छन् । पोखरा बस ब्यवसायी समितिले पुरानो गाडी विस्थापन नीति अन्तर्गत एक महिना अघि मात्रै ३४ वटा लक्जरी बस र यूरो थ्रि मापदण्डका ४९ वटा हरियो बस सञ्चालन गरेको थियो ।

यातायात ब्यववस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले पिसपोखरासँगको कुराकानीमा नयाँलाई दिने नदिने भन्दा पनि कानुन अनुसार अघि बढ्ने बताए । कानुनी प्रक्रिया पूरा गरेर बस सञ्चालनको लागि आउनलाई रुट ईजाजत दिने उनको संकेत थियो । यातायात ब्यवस्था कार्यालय गण्डकीले नयाँ बसको रुट ईजाजत प्रक्रिया अघि बढाएको छ । कार्यालय स्रोतका अनुसार केहि दिन भित्र नयाँ समितिका बसले रुट ईजाजत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया