नक्कली कागजातका आधारमा बीमा रकम लिनखोज्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । बनावटी दुर्घटना गराई बियर र ट्रकबापतको बीमा रकम ठगी गर्न खोज्ने चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट नौ सय ६० कार्टुुन बियर बरामद भएको छ ।
पक्राउ पर्नेहरुका मकवानपुर मनहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३० को उज्वल कँडेल, हेटौँडा उपमहानगरपालिका ११ बस्ने वर्ष २८ को सन्तोष खत्री, मकवानपुरकै हेटौंडा उपमहानगरपालिका १९ बस्ने वर्ष २२ को निर्मल सुवेदी र सोही नगरपालिका १३ बस्ने वर्ष २४ को मणि लामा रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकामध्ये कँडेलले ट्रक दुुर्घटना गराएको, खत्रीले योजना बनाएको, सुवेदी नक्कली साहुु बनेको र लामाले बियरहरु विभिन्न व्यक्तिहरुको घरमा स्टोरेज गर्न लगाएको खुुलेको छ ।
यस्तो थियो योजना प्रहरीका अनुसार बियर र ट्रकको बीमाबापतको रकम ठगी गरी खाने उद्देश्यले योजना बनाई चितवनको इच्छाकामना गाउँपालिका जलबीरेस्थित त्रिशूली नदीमा ट्रक दुर्घटना गराई खसाल्न जिल्ला मकवानपुर हे.उ.म.न.पा. ११ बस्ने वर्ष २८ को सन्तोष खत्री (ट्रक चालक) र जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने उज्वल कँडेल दुवै जनाले भदौ २० गते अपराह्न १ बजे ट्रक दुुर्घटना गराउने ठाउँको अवलोकन गर्न गएका थिए । ट्रक दुुर्घटना गराउने ठाउँ खोजी गर्ने व्यक्ति भने सन्तोष खत्री रहेका थिए । योजनाअनुुरुप ना.५ख ७२९७ को ट्रक भदौ २५ गते अन्दाजी साँढे ४ बजे नवलपरासी भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १४ सय कार्टुन टुबोर्ग बियर काठमाडौं पु-याउन भनी लिई हिँडेको थियो । तर काठमाडौं नपु-याई चितवनको गीतानगरमा नाम नम्बर थाहा नभएको अर्को ट्रकमा ७ बजेदेखि १० बजेसम्म १२ सय कार्टुन पल्टी गरेको, २०० कार्टुन सोही ट्रकमा राखिएको थियो ।
प्रहरीका अनुसार नाम थर थाहा नभएको भाडाको ट्रक भदौ २६ गते हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङमा आई बसी भोलिपल्ट अर्थात् भदौ २७ गते सो १२ सय कार्टुन हेटौंडा उपमहानगरपालिका वडा नं. २ नयाँ मनकामना रोड कुमारमणि दाहालको घरमा लुकाइराखिएको थियो । सो सामान पछि फेरि भदौ ३१ गते मकवानपुर हेटौंडा उपमहानगरपालिकाकै १३ पदमपोखरीमा लुकाई छिपाई राखिएको थियो ।
प्रहरीका अनुसार भदौ २६ गते ना.५ख ७२९७ को ट्रक चितवन इच्छाकामना गा.पा. जलबिरेमा मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने वर्ष ३० को उज्वल कँडेलले ११ बजेको समयमा खसाली ११ बजेर १५ मिनेट जाँदा निर्मल सुवेदीलाई (नक्कली साहु) खबर गरेको र निज साहुले इलाका प्रहरी कार्यालय मुग्लिङमा जानकारी गराएका थिए । सोपश्चात् इ.प्र.का. मुग्लिङले अनुसन्धान कार्य जारी राखेको र भदौ २६ गते बेलुका इ.प्र.का. मुग्लिङमा निर्मल सुवेदीले बीमाको रकम पाउने उद्देश्यले निवेदन दिएका थिए ।
दुर्घटनापश्चात् पनि चालक उज्वल कँडेललाई कुनै चोटपटक नलागेको देखी ‘शंका हुन्छ काम सफल नहुन सक्छ’ भनी भदौ २७ निर्मल सुवेदीलाई सन्तोष खत्रीले भनी निर्मल सुवेदीले उज्वल कँडेललाई भाँडा पसलमा लगी चक्कु किन्नुका साथै कपडा पसलमा गई ब्यान्डेज कपडा समेत किनी भरतपुर यातायात कार्यालय चौबीसकोटीनजिक झाडीमा गई बायाँ खुट्टाको घुँडामाथि चक्कुले निर्मल सुवेदीले जानाजान काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी छ टाँका लगाएको थियो ।
उक्त घटना बनावटीजस्तो लागेकोले प्रहरीबाट गोप्य अनुसन्धान जारी रहेको अवस्थामा सूचना प्राप्त गरी असोज १ गते हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी मणि लामाको घरमा पाँच सय ३७ कार्टुन र सोही स्थानका बुद्ध तामाङको घरमा चार सय २३ कार्टुन टुबोर्ग बियर गरी जम्मा नौ सय ६० कार्टुन बियर बरामद भएको थियो । प्रहरीका अनुसार उक्त बियरको बजार मूल्य ३७ लाख रुपैयाँ रहेको छ । सोपश्चात् अनुसन्धान गर्दै जाँदा चालक र नक्कली साहुले बीमाबापतको रकम ठगी गरी खाने मनसायले योजनाबद्ध रुपमा उक्त घटना गराएको अनुसन्धानबाट खुलेको छ । आर्थिक दैनिकबाट