नुवाकोटमा विनासकारी भूकम्पबाट पीडितहरुका लागि आएको करोडौ मुल्य बराबरका राहत सामग्री दुई वर्ष भन्दा लामो समयदेखि विदुरको गोदाममै थन्किएको छ। विदुरस्थित एक संस्थाको गोदाममा राखिएको राहत सामग्री २८ महिनादेखि थन्किएर कुहिएका छन्।
दुई वर्ष चार महिना बितेको छ विनासकारी भूकम्प गएको। तर, भूकम्पबाट घरवार विहिन भएका हजारौंको अवस्था भने उस्तै छ। सरकारले २८ महिनाको अवधिमा नुवाकोटमा लाभग्राहीको सुचिमा रहेका ६५ हजार घरमध्ये अधिकांशलाई आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैया प्रदान गरेको छ। २८ महिनाको अवधिमा १५ हजारले मात्र आवास पुर्ननिर्माण गरेको जनाइएको छ। पीडितका सुविधाका लागी धेरै राहत सामग्री नुवाकोट भित्रिए,धेरैको लेखाजोखा छैन्।
सरकारी अनुदान वितरण प्रभावकारी नहुदा भूकम्प पीडितहरुको अवस्था भने २८ महिनादेखि फेरिएको छ्रन्। पीडितको समस्या विकरालको विकराल नै रहेको छ। विनासकारी भूकम्पले घर भत्केपछि छाप्रा र अस्थायी टहरामा लगातार दुई वर्खा र दुई जाडो काटिरहदा एनजिओ आइएनजिओले जिल्ला प्रवेशको अनुमति पाए।तर, सवैले आआफ्ना कागजी प्रक्रियामा मात्र प्रगती गर्दा भूकम्प पीडितहरुले उचित सहयोग नपाएको जिलिङका पोष्तक गजुरेलले गुनासो गरे।
उनले भूकम्पपीडितहरुको उचित रुपमा पुर्नवास हसन नसक्दा निकै समस्या रहेका बताए। यस पटकको वर्खासमेत टहरोमै विताइएको उनको भनाई छ। अनेक समस्याका वीच भूकम्प पीडतका लागि वितरण गर्नका लागि आएका करोडौ मुल्य वरावरका राहत सामग्री भने दुई वर्षदेखि वेवारिसे अवस्थामा गोदामभित्रै सडिएर रहेको छ भन्दा अनौठो लाग्ला। तर, सदरमुकाम विदुरमै रहेको एक संस्थाको गोदाममा राहत सामग्री २८ महिनादेखि थन्किएर वसेको छ।
जिल्ला दैवी प्रकोप समितिको गोदाममा सयौ टेण्टलगायतका सामग्री त्यसै थन्किएर कुहिएर वसेको छ। भूकम्प पीडितका नाममा आएका सरकारी राहतका सामग्री भने गोदाममा प्रयोग विहिन अवस्थामा थन्किएको दुई वर्ष चार महिना वितेको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको विदुरस्थित इलम प्रशिक्षण केन्द्रको गोदाममा एक हजार टेण्ट, त्रिपाल, वान्टिन, मन्नी, सिरग, डसनालगायतका कपडा रहेका छन्। भूकम्प पीडितलाई दुई छाक टार्न समस्या भइरहदा गोदाममा रहेका चामलका वोरा फुटेर असरल्ल भएको छ।
ती सामग्रीहरु पाँच ट्रक वरावरका रहेका छन्। सामान कुहिन थाल्नुका साथै मुसाले काटेर झुत्रो वनाइसकेका छन्। व्यवस्थापनका लागि सम्वन्धित निकायले वास्ता नगरेको भूकम्प पीडितहरुले गुनासो गरेका छन् । गोदाममा सामान मिलाएरसम्म राखिएका छैनन्। भएका सामान सदुपयोग गर्नुको वदला स्टकका नाममा नष्ट भएर जाने अवस्थामा पुगेको छ।
‘बर्खा र चिसो मौसममा प्रयोग हुने कपडा तथा मन्नी त्यसै थन्किएको छ। गोदाम खाली गरिदिनु हामीलाई प्रशिक्षण गर्ने स्थान छैन भनेर जिल्ला प्रशसनलाई अनुरोध गरिएको डेढ वर्ष भयो, गोदाम खाली गरिएको छैन’इलम प्रशिक्षण केन्द्रका कर्मचारी माधव दाहालले बताए।
इलम प्रशिक्षण केन्द्रले धेरै पटक जिल्ला प्रशासनलाई सामान हटाएर व्यवस्थापन गरिदिनु भनेर अनुरोध सहितको निवेदन दिएपनि नहटाइएको केन्द्रका अध्यक्ष तारावहादुर कार्कीले बताए।’सामान कुहिन थालेका छन्, हामीलाई प्रशसनले राखेको भन्ने जानकारी छ। तर, कस्को सामान र के कति परिमाणका सामग्री छन् जानकारी छैन’अध्यक्ष कार्कीको भनाई छ।
पहिले जिल्ला प्रशासनले अपाङ्ग, सुत्केरी, वृद्धबृद्धाका लागी केही सामान वितरण गरेपनि अझै धेरै सडेर रहेको छ। दुर्गम पहाडि वस्तीका गाउंका भूकम्प पीडितहरु टहरोमा गर्मीको मार खेपीरहदा गोदाममा भएका कपडालगायतका राहत सामग्री भने धोक्रामा खादिएको अवस्थामा कुहिन थालेको छ। विस्थापित भूकम्प पीडित समितिका संयोजक दिलमान तामाङले वर्षा याममा हुने वाढि पहिरो जस्ता प्रकोप पीडितका लागी जगेडा राखिएको राहत दुई वर्खा बितेर तीन वर्खा लाग्दासमेत भूकम्प पीडितलाई नदा कुहिन थालेका छन्।
वर्षा याममा वाढी पहिरो पीडितका लागी भन्दै स्टक राखिएको राहत प्रयोगमा नआएपछि प्रमुख जिल्ला अधिकारी जगदीशराज वरालले गोदाममा रहेका राहत सामाग्री वाढीपहिरो, आगलागीका घटना हुनसक्ने र त्यसका लागी राखिएको दावी गरे। कुनै नगर वा गाउँपालिकाले माग गरेको खण्डमा ति सामग्री वितरण गरिने उहाको भनाई छ।
अन्यत्र राख्ने स्थान नहुदा इलम प्रशिक्षण केन्द्रको तालिम हललाई गोदाम वनाएर राखिएको प्रजिअ वरालको भनाई छ। घटना जुनसुकै समयमा जेपनि हुन सक्छ त्यसका लागी सामान स्टक राख्नु कर्तव्य ठान्दै केही सामान स्टक राख्नु बाध्यता भएको उहांको दावी छ। सरकारले पीडितका लागी पठाएको राहत रकम पनि समयमै भूकम्पपीडितको हातमा पुग्न सकेको थिएन। वास्तविक भूकम्प पीडित राहतवाट वन्चित भएका छन राज्यले उनीहरुलाई सम्वोधन गर्न नसकेको लिखु गाउंपालिका वडा नं. ३ सुर्यमतिका वडाध्यक्ष भोलाप्रसाद सेढाइले बताए।