ऋण लगानी गर्न नसकेका बैंकले प्रतिस्पर्धि बैंकमा पैसा राख्दै ब्याज खाँदै साढे तीन अर्ब कमाए

ऋण लगानी गर्न नसकेका बैंकले प्रतिस्पर्धि बैंकमा पैसा राख्दै ब्याज खाँदै साढे तीन अर्ब कमाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ भाद्र २०७४
  • 12.3K
    Shares

सामान्यतया बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलन गरेको निक्षेपलाई कर्जा लगानीमा प्रयोग गर्छन् । तर, कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले अर्कै तरिकाबाट पनि अरबौं कमाइ गरिरहेका छन् ।

 

संकलित निक्षेपलाई अर्कै बैंक तथा वित्तीय संस्थामा ब्याजमा लगाएर उनीहरुले सो कमाई गरेका हुन् । गत आर्थिक वर्ष २०७३/७४मा यस माध्यमबाट बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ४७ करोड रुपैयाँसम्म व्याज कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा झन् धेरै ३ अर्ब ९१ करोड रुपैयाँ उनीहरुले कमाएका थिए ।

बैंक तथा वित्तीय संस्थाले आफुले उठाएको निक्षेपको लगभग ८३ प्रतिशतसम्म रकम कर्जा लगानी गर्न पाउँछन् । तर, यो सीमामा कर्जा लगानी गर्न नसक्ने बैंकहरुले अर्को कुनै बैंकमा निक्षेपको रुपमा पैसा राखेर व्याज खाने प्रवृत्ती छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा योग्य पुँजी अभाव भएर ग्राहकहरुले कर्जा नपाएको गुनासो गरेका थिए । तर, बैंकहरुले भने अर्को वित्तीय संस्थामा ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप राखेका थिए ।

हुनतः निक्षेप राखिएको बैंकबाट पनि सर्वसाधारणले कर्जा पाउन सक्छन् । तर, एक बैंकसँग ग्राहकले बनाएको सम्बन्ध अर्को बैंकमा समान नहुन सक्छ । यसबाहेक वित्तीय पहुँचको आधारमा हेर्ने हो भने सबै बैंक तथा वित्तीय संस्थामा सबै ग्राहकको पहुँच पनि नपुग्ने अवस्था हुनसक्छ ।
हुनत एउटा बैंकले यसरी अर्को बैंकमा निक्षेप राख्न नपाउने होइन । यसबाहेक बैंकहरुले एक अर्कालाई सापटी दिन सकिने व्यवस्था समेत छ । कर्जा लगानी योग्य पुँजीको खाँचो हुँदा एक अर्कासँग सापट लिनुलाई खासै नराम्रो मानिदैन । तर, आफु भने कर्जा लगानी बढाउन प्रयत्न नगर्ने र अर्काेमा निक्षेप राख्ने बैंकहरुलाई कम व्यवसायिक मानिन्छ ।

व्याज खाएर ढुक्कले बस्ने यस्ता बैंकहरुलाई हतोत्साही गर्न राष्ट्र बैंकले अर्को बैंकले ग्रहण गर्ने यस्तो निक्षेपको रकम कर्जा लगानीमा प्रयाग गर्न नपाउने व्यवस्था गरेको थियो । तर, त्यसको एक सातामै राष्ट्र बैंकले आफ्नो अडान फेर्यो र कर्जा लगानी गर्न सक्ने पुरानै व्यवस्थालाई निरन्तरता दियो ।

वित्त कम्पनी र विकास बैंकमा यस्तो प्रवृत्ती बढि 

बैंकहरुले कल डिपोजिटको रुपमा एक अर्कोमा यसरी निक्षेप राख्ने चलन छ । कल डिपोजिटमा अघिल्लो वर्ष बैंकहरुले ११ प्रतिशतसम्म व्याज दिएका थिए । यद्यपि, राष्ट्र बैंकले भने औसत ४.४ प्रतिशत व्याज दिइएको जनाएको छ ।

कल डिपोजिटमा पैसा राखेर  व्याज खानेमा बिकास बैंकहरुकाे संख्या बढि छ। विकास बैंकहरुले मात्रै अर्कोमा निक्षेप राखेर २ अर्ब ५ करोड रुपैयाँ व्याज कमाएका छन् । त्यस्तै, वित्त कम्पनीले ६३ करोड ८० लाख र वाणिज्य बैंकले ७८ करोड १० लाख व्याज कमाएका छन् ।

भिवोर सोसाइटी र लुम्बिनी फाइनान्स मर्ज भएर बनेको लुम्बिनी बिकास बैंकले अर्कोमा यसरी निक्षेप राखेर २१ करोडसम्म व्याज कमाएको छ । त्यस्तै गत आवमा ५० करोड कमाएको कैलाश बिकास बैंकले अर्कोमा निक्षेप राखेरै १७ करोड व्याज आम्दानी गरेको छ ।

४३ करोड रुपैया नाफा कमाएको ओम डेभलपमेन्ट बैंकले पनि अर्काकोमा निक्षेप राखेरै १५ करोडसम्म व्याज कमाएको छ । कर्जायोग्य पूँजी अभाव रहेको भनिएको मेगा बैंकले अर्को बैंकमा पैसा राखेर १२ करोड व्याज खाएको थियो । वाणिज्य बैंकमा १० करोडभन्दा माथि व्याज खाने मेगा बैंक मात्रै हो । अनलाइन खबर डट कमबाट साभार 

प्रतिक्रिया