सङ्खुवासभा: खाँदबारी नगरपालिका अन्तर्गतका वडामा विनियोजित बजेटप्रति असन्तुष्टि जनाउँदै नगर प्रमुख र उप–प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ। वडालाई विनियोजित २२ लाख रुपैयाँ बजेट अपुग भएको र बजेट १ करोड पुर्याउनुपर्ने माग राख्दै कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले तालाबन्दी गरेका हुन्।
नगरप्रमुख मुरारी प्रसाद खतिवडाले मनोमानी ढंगले बजेट विनियोजन गरेको आरोप कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका छन्। केन्द्रबाट करिव ३९ करोड रुपैयाँ अनुदान आएपनि वडामा २२ लाख मात्रै विनियोजन गरेको खाँदबारी १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठको आरोप छ।
वडालाई बजेट सिलिङ मार्फत विनियोजन गरिनुपर्ने वडा अध्यक्ष श्रेष्ठको माग छ। यसअघि नगरसभाको बैठकको निर्णयमा पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेखेर बैठक बहिष्कार गरेका थिए।
नगरका प्रमुख खतिवडाले बजेटको विषयलाई राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘वडाअध्यक्षलाई अगाडी सारेर कांग्रेसले राजनीति गर्न खोजेको छ। नगरसभाको निर्णय मैले उल्टाउन सक्दैन।’ ११ वटा वडा रहेको यस नगरमा ५ वटा वडामा कांग्रेस र बाँकी वडामा एमालेले जितेको थियो।