कास्कीमा ३४ हजार मतदाताले गरे नाम दर्ता

कास्कीमा ३४ हजार मतदाताले गरे नाम दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ भाद्र २०७४
  • 6.3K
    Shares

कास्की । जिल्लामा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहिबारसम्ममा १७ हजार ९३८ महिला र १६ हजार १९४ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

तेत्तीसवटा वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २९ हजार ५६९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये १५ हजार ६६६ महिला र १३ हजार ९०३ पुरुष छन् । त्यस्तै अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा दुवै हजार २७२ महिला र दुई हजार २९१ पुरुष गरी चार हजार ५६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।

कुल नाम दर्ता भएकामध्ये विभिन्न जिल्लाबाट पोखरामा आई विभिन्न व्यवसाय र पेशा गरेका पाँच हजार ६ सय ६३ जनाले पनि नाम दर्ता गराएका छन् । बुढाबुढी, अपांग, विदेशबाट घर फर्केका र नाम दर्ता गर्न छूट भएका मतदाताले विशेष चासोका साथ मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम भने भदौ ३ गतेसम्म कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख २४ हजार ८११ मतदाता संख्या रहेको छ । रासस

प्रतिक्रिया