पोखरा पृथ्वीचोक लखन थापाको शालिक रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने

पोखरा पृथ्वीचोक लखन थापाको शालिक रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ भाद्र २०७४
  • 12.3K
    Shares

पोखराको सबैभन्दा व्यस्त पृथ्वीचोक (लखनचोक)मा रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने भएको छ । हालको १४ मिटर डायोमिटर रहेको पृथ्वीचोकको आइल्याण्ड घटाएर ४ मिटरमा सीमित गर्न लागिएको हो ।

हालको आइल्याण्डको परिधी ४३ मिटर छ भने अब यो घटेर करीब १२ मिटरमा झर्नेछ । पृथ्वीचोकको हालको आइल्याण्ड भद्दा, फराकिलो र अग्लो हुँदा ट्राफिक प्रहरीको संख्या धेरै खटाउनु पर्नुका साथै ट्राफिक जाम र दुर्घटनालगायतका समस्यासमेत आएपछि यसको आकार घटाउन लागिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

आइल्याण्डको आकार घटाउन सडक डिभिजन कार्यालयले पोखरा लेखनाथ महानगरपालिकासँग स्विकृति लिइसकेको छ । तर हाल ४ मिटरमा सीमित गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन । आइल्याण्डको आकार घटाउन पोखरा लेखनाथ महानगरपालिकाको समन्वयमा पटक-पटक छलफल भएर आकार घटाउने निश्कर्षमा पुगेपछि सडक डिभिजन कार्यालय पोखराले कत्रो आकारको आइल्याण्ड बनाउन उपयुक्त हुन्छ भन्ने अध्ययन गर्न सडक विभाग अन्तर्गतको ‘रोड एण्ड ट्राफिक युनिट’ पुल्चोकलाई खटायो ।

युनिटले आइल्याण्डमा हुने सवारी चाप, त्यसको असर, जामको अवस्था हेरेर आइल्याण्ड ४ मिटरमा सीमित गर्न सुझाव दिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले जानकारी दिए ।

रोड एण्ड ट्राफिक युनिटको प्रतिवेदन अनुसार नै आइल्याण्डको आकार खुम्च्याउने तयारी थालिएको उनले बताए । त्यसका लागि पोखरा-लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग छलफल भएको तर उहाँ काठमाडौं भएकाले निर्णय भने भइनसकेको उनले बताए । महानगरसहित सरोकारवालासँग सहमति गरेर निर्णय भएपछि आइल्याण्डको आकार घटाउन सडक विभागमा अनुमति माग्नका लागि पत्र पठाइने उनले जानकारी दिए ।

मगर संघको असहमति

आइल्याण्ड सानो आकारको बनाउन सरोकारवाला सबै पक्ष सकारात्मक भएपनि नेपाल मगर संघ भने मानेको छैन । उसले आइल्याण्ड परिसरमा रहेको प्रथम शहीद लखन थापाको शालिक जोखिम हुने भन्दै सानो आकारको बनाउने निर्णयमा असहमति जनाउँदै आएको छ ।

संघले यसअघि हालको आइल्याण्डको आकार ५ मिटर मात्र घटाउने निर्णय भएकाले सो निर्णय बाहेक अर्को निर्णय मान्य नहुने बताएको छ । आफूहरुको पूर्वधारणा अनुसार हालको आइल्याण्डमा ५ फुट घटाउने बाहेक तलमाथी गर्न नमिल्ने बताउँदै उनले भने, ‘हाम्रो धारणा भनेको ५ फुट घटाउने भन्ने नै हो, त्यो भन्दा अर्को निर्णय भएको छैन र त्यसबारे सोंचेको पनि छैन ।’

पोखरा लेखनाथ महानगरपालिकाको २०७३ साल पुष ११ गते बसेको बैठकले पृथ्वीचोकको आइल्याण्ड ५ फुट घटाउने निर्णय गरेको थियो । तर सडक डिभिजन कार्यालय पोखराको आग्रहमा ‘रोड एण्ड ट्राफिक युनिट’ को प्रतिवेदनले हालको आइल्याण्डमा ५ फुट मात्र घटाउने हो भने त्यसले ट्राफिक ब्यवस्थापनमा खासै सुधार नआउने निश्कर्षसहित आइल्याण्ड घटाएर ४ मिटरमा सिमित गर्न सुझाएको डक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले बताए ।

सन्देश श्रेष्ठको समाचार आजको अनलाइन खबरले लेखेको छ।

 

प्रतिक्रिया