भाषिक मानव अधिकारबारे सचेत रहनुपर्नेमा जोड

भाषिक मानव अधिकारबारे सचेत रहनुपर्नेमा जोड


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३२ साउन २०७४
  • 7.4K
    Shares

पोखरा, ३२ साउन पोखरामा एक कार्यक्रमका वक्ताहरूले मातृभाषी समुदायले आफ्नो भाषिक मानवअधिकारबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, लगनखेल, ललितपुरले बुधबार पोखरामा आयोजना गरेको नेपालको संविधानमा भाषा र भाषिक मानव अधिकारसम्बन्धी गोष्ठीमा बोल्ने वक्ताहरूले भाषिक मानवअधिकार पनि अन्य मानवअधिकारजत्तिकै महत्वपूर्ण भएको उल्लेख गरे ।

नेपालको संविधानमा भाषा र भाषिक मानवअधिकारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा अभियन्ता अमृत योञ्जन तामाङले मातृभाषा बोल्न र प्रयोग गर्न पाउने कुनै पनि मातृभाषीको भाषिक मानवअधिकार भएको बताउनुभयो । नेपालमा बोलिने सबै मातृभाषालाई समान दृष्टिले हेरिनुपर्नेमा जोड दिादै योञ्जनले सरकारी कामकाजका लागि मापदण्ड मात्र बनाएर नपुग्ने उल्लेख गर्नुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापामगरले अहिलेसम्म नेपालमा भाषिक सर्वेक्षण नभएको भन्दै तथ्यांक विभागले निकाले भाषिक तथ्यांकलाई मात्र आधार मान्न नसकिने उल्लेख गर्नुभयो । सबै मातृभाषाको उत्तिकै महत्व रहेको भन्दै थापामगरले सरकारी कामकाज र सम्पर्क भाषा भनेर तोक्नु नै गलत रहेको धारणा राख्नुभयो ।

इतिहासविद् डा. गेहेन्द्रमान उदास पोखरेलीले मातृभाषी समुदायका लागि अलग्गै पहिचान क्षेत्र घोषणा गर्नुपर्ने बताउादै विशेष मातृभाषा पहिचान क्षेत्र बनाएर मातृभाषाको संरक्षण र विकास गर्न सकिने धारणा उल्लेख गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका उपाध्यक्ष सु. हरिमान थिङ तामाङले बहुसंख्यक र अल्पसंख्यकका नाममा कुनै पनि मातृभाषालाई विभेदमा पार्न नहुनेमा जोड दिनुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान मातृभाषा तथा प्राज्ञिक अनुसन्धान शाखाका सरिना गुरुङ र विमला गुरुङले मातृभाषाको प्रयोगबारे भएका भ्रम चिर्न र मातृभाषी समुदायको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चका अध्यक्ष सुन्दर गुरुङ, ङ्योए तमु धिं लेखनाथका मनबहादुर गुरुङ, भुजेल समाज सेवा समिति, नेपालका महासचिव पानबहादुर घर्ती, नेपाल तमु हृयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य चेतबहादुर गुरुङ, लोकोत्तर लोकवादी अभियानका संयोजक धनप्रसाद तामाङ, किरात सेवा समाज कास्कीका अध्यक्ष गजेन्द्र सुब्बा, नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष भक्तबहादुर छन्त्याल, थकाली सेवा समितिका सल्लाहकार अम्बर तुलाचन, तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ, नेपाल मगर संघ कास्कीका प्रचारप्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगर, नेवाः तजिलजि दबूका अध्यक्ष विष्णुशंकर ख्वाउाजू, तमु हृयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीका सल्लाहकार खुशीमान गुरुङ र मगर भाषा प्रतिष्ठान, कास्की शाखाका सचिव रूद्रबहादुर श्रीसमगरले मातृभाषाको संरक्षण एवं विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया