स्थानीयकाे अबराेधपछि बीचबाटोमै ८२ वटा चौपायालाई अलपत्र छाडेर महानगरका कर्मचारी फर्किए

स्थानीयकाे अबराेधपछि बीचबाटोमै ८२ वटा चौपायालाई अलपत्र छाडेर महानगरका कर्मचारी फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ साउन २०७४
  • 17K
    Shares

पोखरामा छाडा चौपाया चुनौती बनेपछि महानगरपालिकाले केही दिनअघि भलामको एक सहकारीसँग व्यवस्थापन सम्झौता ग‌र्यो । पोखराका छाडा चौपाया व्यवस्थापन गर्न मासिक ५० हजार रुपैयाँमा सम्झौता गरेर भलामको स्थानापति सहकारीलाई महानगरले जिम्मा दियो । तर, छाडा चौपया नियन्त्रण गरी व्यवस्थापन गर्ने थलोसम्म लैजाँदै गर्दा बीच बाटोबाटै स्थानीयले फर्काइदिएका छन् ।

महानगरपालिका र भलामको स्थानापति दुग्ध सहकारी संस्थाको सम्झौताअनुासर व्यवस्थापन थलोसम्म लैजाँदै गर्दा बिनापूर्वाधार चौपाया लैजान लागिएको भन्दै भलामवासीले छाडा चौपया पोखरामै फर्काइदिएका हुन् । सहकारीले साविकको भलाम, मौजा र अर्मला गाविस तथा अहिलेको वडा नम्बर १६ र २० मा पर्ने कुरा गाउँनजिकै शराध्य पस्मराम भन्ने ठाउँमा व्यवस्थापन गर्ने महानगरसँग सम्झौता गरेको थियो । तर, बिनापूर्वाधार छाडा चौपाया लैजान लागिएको, खानेपानी, बाटो संरक्षण तथा स्तरोन्नति गर्नुपर्ने माग गर्दै भलामवासीले बीच बाटोबाटै चौपाया फर्काइदिएका हुन् ।

पोखराबाट ८२ वटा छाडा चौपाया व्यवस्थापनस्थल लैजाँदै गर्दा भलामवासीले ¥यालेचौरमा अवरोध गरेपछि बीचबाटोमै चौपायालाई अलपत्र छाडेर महानगरका कर्मचारी फर्किएका थिए । ‘सहकारीसँगको सम्झौताअनुसार पहिले चरणमा ८२ वटा गाईबस्तु लिएर महानगरका कर्मचारी जाँदै थिए,’ पोखरा महानगरपालिकाका वरिष्ठ निरीक्षक वसन्त चालिसेले भने, ‘पूर्वाधार खोइ ? पराल खोइ ? भनेर स्थानीयले विरोध गरेपछि कर्मचारी त्यसै फर्किनुप¥यो ।’

५ सय छाडा चौपायालाई व्यवस्थापन गरवापत महानगरपालिकाले सहकारीलाई मासिक ५० हजार रुपैयाँ दिने गरी साउन १९ गते सम्झौता भएको थियो । तर, साविक भलाम गाविस वडा नम्बर ३, ४ र ५ नम्बर वडाका नागरिकले कुरागाउँ नजिकै रहेको खानेपानीको मुहान संरक्षण, व्यवस्थापन स्थलसम्म पुग्ने बाटोलाई कृषि सडकमा स्तरोन्नति गर्नुपर्ने र त्यो कहिलेदेखि कहिलेसम्म सम्पन्न हुन्छ ? लिखित प्रतिवद्धता दिनुपर्ने माग स्थानीयले राखेको वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले जानकारी दिए । स्थानीयले यस विषयलाई लिएर सरोकार समिति नै गठन गरेका छन् ।

खानेपानी, बाटो, गौंडा केके संरचना निर्माण गरेर कसरी छाडा चौपायालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरोकार समितिसँगको छलफल गरेर वडाबाट निचोड आएपछि व्यवस्थापनको काम अगाडि बढ्ने महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए । ‘स्थानीयले ४÷५ बुँदे माग गरेका छन् । यसको निर्णय ल्याउन वडालाई जिम्मा दिइएको छ,’ कार्यकारी अधिकृत पौडेलले भने, ‘सरोकार समितिसँग पनि सम्झौता भएसँगै छाडा चौपाया  व्यवस्थापनको काम सुरु हुनेछ ।’

महानगरपालिकाले बीच ¥यालेचौरमै अलपत्र छाडेको चौपाया फेरि पोखरा झरेका छन् भने पोखरामा पछिल्लो समय झन् छाडा गाइबस्तुले सडक सडक छेक्ने गरेका छन् । ‘बीचबाटोमै स्थानीयले रोकेपछि त्यसै छाडिएको चौपया पनि पोखरा झरेका छन् भने पोखराका विभिन्न ठाउँबाट शान्ति वन नजिकैको कान्जी हाउसमा केही चौपया जम्मा गरिएको छ,’ महानगरका वरिष्ठ निरीक्षक चालिसेले भने, ‘कान्जी हाउसका चौपायाको समेत दयनीय अवस्था छ ।’

सहकारीले खरिद गरेको झन्डै ३ सय रोपनी जग्गामा महानगरबाट आएका चौपाया व्यवस्थानका लागि अहिले अस्थायी गोठ निर्माणको काम भइरहेको स्थानापति सहकारीका सचिव रामजीप्रसाद पौडेलले बताए । ‘अहिले त्यो जग्गामा प्रशस्त घाँस लगाइएको छ,’ सहकारी सचिव पौडेलले भने, ‘हामीले एक महिनाभित्र गोठ निर्माण गर्नेछौं ।’ चौपाया व्यवस्थापन गर्न पोखरा महानगरपालिका र सहकारीबीच १४ बुँदे सम्झौता गरेको थियो । पोखराका छाडा चौपायालाई नियन्त्रणमा लिएर व्यवस्थापन हुने स्थलसम्म महानगरपालिकाले नै पु¥याइदिनुपर्ने सम्झौतामा छ । ‘महानगरले छाडा चौपायालाई व्यवस्थापन स्थलसम्म ल्याइपु¥याउनेछ । उत्पादन दिनसक्ने चौपायालाई सहकारीका सेयर सदस्य रहेका किसानलाई दिन्छौं र बाँकी त्यही जग्गामा व्यवस्थापन गर्छौं’ सचिव पौडेलले भने ।

५ सयभन्दा बढी छाडा चौपायाका लागि विकल्पको खोजि भइरहेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । पोखराका सडकमा पछिल्लो समय छाडा चौपाया बढेको र त्यसले दुर्घटनाको संभावना तथा असुरक्षा बढाएको भन्दै व्यापक आलोचना भइरहेको थियो । सम्झौतामा संकलन भएका चौपाया फिर्ता गर्न वा अन्यत्र पठाउन नपाइने उल्लेख छ ।

छाडा चौपाया व्यवस्थापनस्थलका चौपाया त्यहाँबाट भागेमा, अरुको खेतीबाली नोक्सान बनाएमा सहकारी नै त्यसको जिम्मेवार हुनुपर्ने, सहकारीले प्रत्येक महिना चौपाया संकलन केन्द्रमा रहेका बस्तुको विवरण बुझाउनुपर्ने सम्झौतामा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार