पोखरा, २७ साउन २०७४ ।स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यको माग राख्दै विगत १९ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनिरहँदा उनको समर्थनमा आन्दोलनका कार्यक्रमहरु चलिरहेका छन् ।
यसैक्रममा इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले गठन गरेको डा. गोबिन्द केसी बचाऊ अभियानले शुक्रबार साँझ लामाचौरमा दीप प्रज्जवलन कार्य ग¥यो ।
त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो भाषण तथा कवितामार्फत् आम नेपाली जनताको स्वास्थ्यको पक्षमा आन्दोलन गरिरहेका डा. गोबिन्द केसीको मागहरुलाई राजनीतिक पार्टीहरुले वेवास्ता गरेकामा आपत्ति जनाएका थिए । उनीहरुले जनताको पक्षमा काम गर्न नसक्ने हो भने लाचार र गैर जिम्मेवार सरकार तथा राजनीतिक पार्टीहरुले जनताको आवाज उठाउने डा. गोबिन्द केसीलाई पागल घोषणा गर्न भन्दै व्यंग्य प्रस्तुत गरे ।
उक्त दीप प्रज्जवलनपूर्व स्वतःस्फूर्त रुपमा डा गोबिन्द केसीको पक्षमा उभिएका विद्यार्थीहरुले शैक्षिक माफियाहरु मूर्दावाद, नेताहरुको विदेशमा उपचार जनताको स्वास्थ्यमा किन खेलवाड ? १८ दिनसम्म महाभारत त सकियो, यो लडाईं कहिलेसम्म ?लगायतका नाराबाजी गर्नुका साथै प्लेकार्डहरु बोकेका थिए । उनीहरुले नाराबाजीका साथ लामाचौर बजार परिक्रमा गरेका थिए ।
यसैबीच डा. गोबिन्द केसीको समर्थनमा नागरिक समाज पोखराले आन्दोलनको घोषणा गरेको छ । डा. गोविन्द के.सी.को ११ औं पटकको सत्याग्रह लाई समर्थन गर्दै ऐक्यवद्धता जनाएको नागरिक समाज पोखराले हस्ताक्षर संकलन गर्नेदेखि लिएर रिले अनसन बस्ने सम्मको संघर्षका कार्यक्रमहरु तय गरेको समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
तस्बिर आश तमु





