विदेश पढेर आएका डाक्टर नेपालमा फेल, कुन देश पढेर आएका कति फेल ?

विदेश पढेर आएका डाक्टर नेपालमा फेल, कुन देश पढेर आएका कति फेल ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ साउन २०७४
  • 9.4K
    Shares

विदेशमा पढेर आएका डाक्टर नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।  विदेशका विभिन्न विश्वविद्यालयमा एमबीबीएस तथा बीडीएस अध्ययन गरेर नेपाल फर्किएका ‘डाक्टर’ हरु  काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा फेल भएका हुन्  ।  काउन्सिलका अनुसार  बंगलादेश र चीनमा पढेर नेपाल फर्किएका धेरै  फेल भएका  छन् ।

काउन्सिलले शनिबार लिएकाे लाइसेन्सिङ परीक्षाको नतिजा अनुसार बंगलादेशमा एमबीबीएस अध्ययन गरेर नेपाल फर्किएका १६० मध्ये ६२  जनामात्रै उत्तीर्ण भएका छन् । बाँकी ९८ जना  लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुन नसकेका हुन् ।

विदेश अध्ययन गरेर  आएका डाक्टर नेपालमा फेल हुने गरेको सूचिमा बंगलादेश दोस्रो स्थानमा परेको छ । पहिलो स्थानमा भने चीन परेको छ । चीनमा एमबीबीएस पढेर आएका कूल ५३१  डाक्टरमध्ये ९९ जना उत्तीर्ण र  २४३ जना अनुत्तीर्ण भएका छन् ।

यस्तै भारतमा अध्ययन गरेका ९ मध्ये ५ जना असफल हुँदा नेपालकै विभिन्न मेडिकल कलेजहरुमा अध्ययन गरेका डाक्टरहरुको भने राम्रो नतिजा देखिएका छ । नेपालकै विभिन्न मेडिकल कलेजहरुमा मध्ययन गरी लाइसेन्सको लागि परीक्षामा सहभागि भएका २७६ मध्ये १७८ जना उत्तीर्ण भएका छन्  । यद्यपी ९७ जना भने असफल भएका छन् ।

यसैगरी फिलिपिन्समा अध्ययन गरेकाहरुको  पनि राम्रो नतिजा देखिएको छ । फिलिपिन्समा अध्ययन गरेका ५१ मध्ये ३३ जना  काउन्सिलको परीक्षामा उत्तीर्ण भएका छन् । यस्तै पाकिस्तानमा अध्ययन गर्ने १६ मध्ये ८, रसियामा अध्ययन गर्ने १० मध्ये ५ जना उत्तीर्ण भएका छन् । तर, काजकिस्तानमा अध्ययन गर्ने सबै डाक्टर काउन्सिलले लिएको परीक्षामा फेल भएका छन् ।  काजकिस्तानमा अध्ययन गरेर फर्किएका ९ मध्ये ९ नै जना अनुत्तीर्ण भएका हुन् ।

यता बंगलादेशमा बीडीएस गरेर फर्किएका १२ मध्ये ७ जना फेल भएका छन् । यस्तै भारतमा अध्ययन गरेर फर्किएका ३१ डाक्टरमध्ये २४ जना अनुत्तीर्ण भएका छन् ।  भारतबाट बीडीएस गरेर नेपाल फर्कँदा अनुत्तीर्ण हुनेको सूचिमा भारत पहिलो स्थानमा दर्ज हुँदा बंगलादेश दोस्रो स्थानमा परेको छ ।

यस्तै नेपालमै बीडीएस गरेकाहरुको उत्तीर्ण दर भने सन्तोषजनक देखिएको छ । नेपालमै बीडीएस गरेर काउन्सिलको परीक्षामा सहभागि बनेका ६७ मध्ये ३ डाक्टरमात्रै फेल भएका छन् । यस्तै पाकिस्तान र फिलिपिन्समा बीडीएस गरेर फर्किएका सबै डाक्टर काउन्सिलको परीक्षामा उत्तीर्ण भएका छन् ।  पाकिस्तानमा १ जना र फिलिपिन्समा ४ जना डाक्टरले बिडिएस गरेर काउन्सिलको परीक्षामा सहभागि भएका थिए ।

विदेशमा डाक्टर पढ्न जाने विद्यार्थीहरुको लागि  ठोस मापदण्ड नबनाइँदा  स्वदेश फर्किएपछि लिइने परीक्षामा अनुत्तीर्ण हुने  दर बृद्धि भएको बुझाई काउन्सिलको रहेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले क्षमता र याग्यताको आधारमा भन्दा पनि आर्थिक पहुँचको हिसावले मनपरी रुपमा अध्ययनका लागि विदेश गइँदा नतिजा खस्किएको स्वीकार गरे  । उनले मेडिकल अध्ययनका लागि विदेश जानुअघि इन्ट्रान्सको व्यवस्था गरिएमात्रै पनि  अनुत्तीर्ण हुने दर ह्वात्तै घटेर  जाने बताए  ।

हाल  मेडिकल अध्ययनका लागि विदेश पठाइनुअघि नै  कडाई गर्ने ब्यवस्था गरिएको भन्दै अबको केहि वर्षमा नतिजामा सुधार आउने उनको विश्वास थियो ।  मेडिकल काउन्सिलले लिने १८० पूर्णांकको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अंक ल्याए उत्तीर्ण हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार