खेलकूद पर्यटनमा जोड दिन मन्त्री केसीको आग्रह

खेलकूद पर्यटनमा जोड दिन मन्त्री केसीको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ साउन २०७४
  • 7.3K
    Shares

आश तमु ,पोखरा, २४ साउन २०७४ ।युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीले पोखरामा पर्यटकहरुको बसाईलाई लम्ब्याउन खेलकूद पर्यटनमा जोड दिनुपर्ने कुरा बताउनुभएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिद्वारा आज बिहान पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री केसीले यस्तो कुरा बताउनुभएको हो ।

परम्परागत खेलहरुभन्दा पनि पूर्वाधारहरु खडा गरेर खेलकूद गतिविधि नियमित हुनसकेमा पर्यटकहरुलाई आकर्षण गर्न सकिने वहाको भनाई रहेको थियो ।

पोखरामा सञ्चालन भएका खेलकूद गतिविधिको प्रशंशा गर्दै मन्त्री केसीले नेपालमा आयोजना हुन लागेको सार्क खेलकूद प्रतियोगितामा पोखरालाई आधार मानेर खेलकूद प्रतियोगिताहरु सञ्चालन गरिने बचन दिनुभयो ।

कार्यक्रम हुनुपूर्व मन्त्री केसीले पोखरा रंगशालाको निरीक्षण गर्नुका साथै त्यहाँ सञ्चालन हुने सबै खालका खेलकूद गतिविधिका बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभावजस्ता समस्या भोग्नुपरेको गुनासो गरे ।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हललगायत संरचना निर्माण भइरहेको जानकारी दिए ।

प्रतिक्रिया