सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा १, ४ र ५ का वडा सचिव संजयकुमार देव घुस लिँदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वाञ्चल क्षेत्रीय कार्यालयको ईटहरी स्थित सम्पर्क कार्यालयको टोलीले देवलाई अाज पक्राउ गरेको हो । अघिल्लो आर्थिक वर्षकाे २ लाख ६८ हजारको लागतमा सम्पन्न सडक ग्राभेलको काममा कमिसन वापतको ५३ हजार घुस रकम लिदै गर्दा राजविराज स्थित राष्ट्रिय वाणिज्य वैंक नजिकैवाट उनलाई पक्राउ गरिएको अख्तियारको टोलीका डिएसपी रमेश वस्नेतले जानकारी दिए ।
उनले उपभोक्ता समितिसँग २० प्रतिशत रकम कमिशन माग गरेका थिए । काम सम्पन्न भए पनि ५३ हजार उपलब्ध गराएपछि मात्रै भुक्तानी दिने भन्दै देवले चेक रोकेर राखेपछि उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
सोहि क्रममा चेक साटेर रकम असुल गर्दै गर्दा उनलाई पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए । पक्राउ परेका देवलाई घुसवापत लिएको रकम तथा सो सम्वन्धि आवश्यक कागजात सहित आवश्यक कार्वाहीका लागि ईटहरी स्थित सम्पर्क कार्यालय लगिएको छ ।
उपभोक्ता समिति मार्फत भईरहेका विकास निर्माणमा अत्याधिक कमिशनको खेल भएको र वजेटको चरम दुरुपयोग भयो भन्दै गुनासो बढिरहेका बेला देव रंगेहात पक्राउ परेका हुन् । यो घटनासँगै उपभोक्ता समिति मार्फत जिल्लाभरी संचालन भएको स्थानीय निकायको विकास निर्माणका काम शंकाको घेरामा परेको छ ।