लामो समयपछि पोखरामा लिइएको लोडर, डोजर, एक्साभेटर, रोलर, दमकल जस्ता हेवी इक्वीप्मेन्टको सवारी चालक अनुमतिपत्र -लाइसेन्स) वितरणका क्रममा लिइएको ट्रायल परीक्षामा गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा र केही व्यवसायीहरुको मिलेमतोमा परीक्षार्थीहरुबाट अनधिकृत रुपमा मोटो रकम उठाइएको रहस्य खुलेको छ । हेवी इक्वीप्मेन्ट प्रयोग गरेबापत परीक्षार्थीहरुबाट उठाइएको रकम मध्येबाट जम्मा करीब २० हजार रुपियाँ बुधबार सडक विभाग अन्तरगतको हेवी इक्वीप्मेन्ट डिभिजन कार्यालय पोखराको बैंक खातामा जम्मा गरेको भेटिएपछि यस्तो रहस्य खुलेको हो ।
गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा पोखराले बुधबारदेखि लोडर, डोजर, एक्साभेटर, रोलर, दमकल जस्ता हेवी इक्वीप्मेन्टको सवारी चालक अनुमतिपत्र -लाइसेन्स) वितरणका लागि ट्रायल परीक्षा लिएको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पत्रका आधारमा सडक विभाग अन्तरगतको हेवी इक्वीप्मेन्ट डिभिजन कार्यालय पोखराले परीक्षार्थीहरुका लागि आफ्ना सवारी साधनहरु कार्यालयको नियम वमोजिम राजश्व बुझाएर ट्रायल परीक्षामा प्रयोग गर्न दिएको थियो । परीक्षामा हेवी इक्वीप्मेन्ट प्रयोग गरेबापत ३१ परीक्षार्थीबाट बुधबार प्रति परीक्षार्थी दुई हजार रुपियाँ दरले उठाइएको थियो भने बिहीबार प्रति परीक्षार्थी एकहजार पाँचसयका दरले २९ जना परीक्षार्थीबाट रकम उठाइएको थियो । आफूले पनि कर्मचारीलाई खाजापानी, हेवी इक्वीपमेन्टको व्यवस्थावपनका लागि भन्दै एकहजार पाँचसय रुपियाँ तिरेको जेसिभीको ट्रायल परीक्षा दिएका जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ जोगीमणि निवासी मनबहादुर विकले
यति ठूलो रकम उठ्दा पनि कसले कसरी रकम उठाएको छ भन्ने बारेमा न त गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखालाई जानकारी छ न सडक विभाग अन्तरगतको हेवी इक्वीप्मेन्ट डिभिजन कार्यालय पोखरालाई नै । हेवी इक्वीप्मेन्ट डिभिजन कार्यालय पोखराका हर्कबहादुर थापा बुधबारको हेवी इक्वीप्मेन्ट प्रयोग गरेबापतको रकम १९ हजार नौसय ८० रुपियाँ बराबरको भौचर प्राप्त भएको बताउँछन् । कसले कति रकम उठायो भन्ने बारेमा आफ्नो कार्यालयलाई कुनै मतलब नहुने उनले बताए । उनी हेवी इक्वीप्मेन्ट प्रयोग गरेबापतको रकम दाखिला गराउन पहल गर्ने दायित्व गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरा लाइसेन्स शाखाको रहेको बताउँछन् । तर गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरा लाइसेन्स शाखाका अधिकृत भरतमणि बराल हेवी इक्वीप्मेन्ट प्रयोग गरेवापत कसले के कति रकम उठाएको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्छन् । उनी भन्छन्, “हेवी इक्वीप्मेन्ट प्रयोग गरेबापतको रकम बराबरको भौचर बुझाउने काम परीक्षार्थी स्वयंको हो । यसमा यातायात कार्यालयको कुनै भूमिका छैन ।”
हेवी इक्वीप्मेन्ट डिभिजन कार्यालय पोखराको नाममा रहेको खातामा १९ हजार नौसय ८० रुपियाँ रकम जम्मा गर्ने व्यक्ति भने पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ कालिका बस्ने लीलामोहन कुईकेल रहेका छन् । उनले हेवी इक्वीप्मेन्ट कार्यालयको हेवी इक्वीप्मेन्ट गरेबापत प्रति परीक्षार्थी बुधबार दुई हजार रुपियाँ र बिहीबार एकहजार पाँचसय रुपियाँ रकम उठाएको स्वीकार गरे । हेवी इक्वीप्मेन्ट संघ पोखराको अध्यक्ष समेत रहेका कुईकेलले उठेको रकमबाट सरकारी राजश्व तिर्नेदेखि लिएर डिजल हाल्ने र केही परीक्षार्थीलाई खाना खुवाउने काम भएको दाबी गरे । उनले के कति परीक्षार्थीले खाना खाए र कति डिजल खर्च भयो भन्ने बारेमा एकीन जानकारी दिन सकेनन् । उनले संघका सल्लाहकार बालकृष्ण कोइरालातर्फ इङ्गति गर्दै भने “के कति रकम तेल खरीदमा गयो भन्ने बारेमा कोइरालाजीलाई थाहा होला ।”
हेवी इक्वीप्मेन्ट संघ पोखराका सल्लाहकार बालकृष्ण कोइरालाले भने बुधबार परीक्षार्थीहरुबाट करीब ४० हजार रुपियाँ उठेकोमा राजश्व बाहेक करीब एकसय ३० लीटर डिजेल खरीद गरी खर्च गरिएको जानकारी दिए । उनले विगतमा हेवी इक्वीप्मेन्टको लाइसेन्स निकाल्दा परीक्षार्थीहरुले मोटो रकम खर्च गर्नपर्ने अवस्था आएकाले यसपटक संघको पहलमा परीक्षार्थीहरुसँगबाट थोरै रकम उठाएर परीक्षा दिने व्यवस्था मिलाएको बताए । उनले बचेको रकम सबै परीक्षार्थीहरुलाई सम्पर्क गरेर फिर्ता गरिने प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच प्राप्त जानकारी अनुसार, कर्मचारी र हेवी इक्वीप्मेन्ट संघ पोखराको मिलेमतोमा बुधबार लिइएको लोडर र रोलर लगायतका हेवी इक्वीप्मेन्टको ट्रायल परीक्षाको परीक्षाफल गुपचुप बनाएर राखिएको खबर छ । त्यो ठूलो रकम चलखेलपश्चात् केहीदिनपछि उक्त परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ । अद्यपि ट्रायल परीक्षा समितिका सदस्य रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले ट्रायल परीक्षा सकिएलगत्तै परीक्षार्थीलाई नतिजा बारे जानकारी नदिइएकोमा बिहीबार बिहानै परीक्षास्थलमा पुगेर आपत्ति जनाएका थिए । उनले परीक्षार्थीलाई तत्काल नतिजा बारे जानकारी दिन भनेका थिए ।
उनको आपत्तिपछि भने बिहीबारका परीक्षार्थीलाई तत्काल उसको ट्रायल परीक्षाको नतिजा बारे जानकारी दिइएको थियो । उनले यातायात व्यवस्था ऐन र नियमावली अनुसार पनि परीक्षार्थीलाई तत्काल नतिजा जानकारी दिनुपर्ने हुन्छ । यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५२ मा ट्रायल परीक्षा भएलगत्तै पास/फेलको जानकारी दिनुपर्ने हुन्छ । तर नियमकानूनविपरीत गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरा लाइसेन्स शाखाले अघिल्लो दिनको परीक्षाको परीक्षाफल गुपचुप बनाएकोमा ड्राइभिङ स्कूल संघ गण्डकीका सचिव विष्णु पोखरेलले आपत्ति जनाए । उनले अविलम्व परीक्षा सार्वजनिक गर्न माग गरे ।