काठमाडौँ । सरकारले सांसदहरुका लागि सरकारी आवास बनाउने तयारी थालेको छ । सभामुख ओनसरी घर्तीले बिहीबार भएको एक कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।
व्यवस्थापिका संसदको वेबसाइट र मोबाइल एप्स सेवा सुरु गर्ने क्रममा बोल्दै सभामुख घर्तीले सांसदहरुका लागि आवास बनाउने प्रयास भइरहेको बताउनुभएको हो ।
‘सांसदहरुलाई सरकारी आवास बनाउन प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, ‘सांसदको आफ्नै आधुनिक भवन, संसदको आफ्नै टेलिभिजन च्यानलबारे पनि छलफल भइरहेको छ । संसद र सांसदहरुको चाहना एकैचोटी पूरा हुने अवस्था छैन, विस्तारी हामी प्रयासरत छौँ ।’
सभामुख घर्तीले संसदको वेबसाइट र मोबाइल एप्सको पनि शुभारम्भ गर्नु भयो । त्यस अवसरमा बोल्दै सभामुख घर्तीले संसद र सांसदलाई सोझै जनतासँग जोड्ने अभियान अन्तर्गत वेबसाइट र मोबाइल एप्स सेवा संचालनमा ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले वेवसाइट र एप्सको संचालनबाट संसद र सांसदहरु जनताप्रति अझै जिम्मेवार बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
वेबसाइटमा संसदको सूचना, कार्यसूची, विधेयकहरुको अवस्था, संसदको महत्वपूर्ण दस्ताबेजहरु सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ । वेबसाइट तथा मोबाइल एप्स सञ्चालनका लागि संसदलाई युएनडिपीले आर्थिक सहयोग उपलब्ध गराएको हो ।