नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन्। भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन्। नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी एमाले पटकपटक सरकारमा पुग्यो।
यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन्। तर तिनै नेता भण्डारीको जन्मघर एवम् त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुङ्गेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ ।
दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पार्टीको सभा, गोष्ठी हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो। तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ।
अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ । लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ।
सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो। विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो) बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गर्नुभएको थियो। जन्मिएको १५ वर्षसम्म गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरीमा बसाइँ सर्यो ।
भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन्। सो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए ।