बाढीबाट घर परिवार जोगाउन खोला फर्काउन गएका”श्रीमान र छोरी नफर्किए पछी”

बाढीबाट घर परिवार जोगाउन खोला फर्काउन गएका”श्रीमान र छोरी नफर्किए पछी”


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ साउन २०७४
  • 15.2K
    Shares

खिम्ती (रामेछाप) : लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा हुनुहुन्छ । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।


श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ ।


विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थप्नुभएको थियो । उहाँको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याउनुभएको थियो । साँझ खाना खाएपछि भने उहाँ छट्पटाइरहनुभएको थियो । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उहाँ भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र-बाहिर गर्दै हुनुहुन्थ्यो । छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उहाँ मान्नुभएको थिएन ।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उहाँले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो’ भन्नुभयो । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भन्नुभयो । तर, उहाँले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गर्नुभयो ।

उहाँले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भन्नुभयो । उहाँले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराउनुभयो । ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै’छ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।’

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो । ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडांैमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं’, श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भन्नुभयो, ‘अब मलाई कसले उपचार गराउला ? बरु छोरीको साटो म आफैं जानुपर्ने रै’छ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।’

उहाँहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ । एक छोरा र दुई छोरी साथमा छन् । छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन् । बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ । साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ । दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिनुभयो ।

बाढीले बेपत्ता भएका विमान तामाङका शोकाकुल परिवार 

 

प्रतिक्रिया
सम्बन्धित समाचार