पोखरा/ प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुँदैछ । उक्त जानकारी झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत गरियो ।
श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरेर सुरु भएको उक्त कार्यक्रममा श्रेष्ठले भने, ‘म त साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तै मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, मेरो जीवनमा त्यस्तो के उल्लेख्य होला भनेर सोच्थें । तर पछि साथीभाइको सल्लाह, प्रेरणा, दबाबले मैले लगभग ६ वर्ष अघि आफूले आत्मकथा लेख्न सुरु गरेको थिएँ ।’ तर, उनले थपे, ‘मेरो श्रीमतीलाई क्यान्सर भएपछि म उनको उपचारका लागि बैङ्कक, इन्डिया कता कता जानुपर्यो । फेरि त्यस्तो बेला लेख्ने मुड पनि हुँदैनथ्यो । तैपनि कहिलेकाहीँ श्रीमतीले अलि आराम महसुस गरेको बेला लेख्थें । फेरि पार्किन्सन्स रोग लागेपछि त झन् लेख्दा हात काम्ने हुनाले लेख्न धेरै समय लाग्यो ।’
पत्रकार सम्मेलनमा बोल्दै महका अर्का सदस्य हरिवंश आचार्यले भनें, ‘सबै मानिसको आत्मकथा हुन्छ । कसैले लैख्छन्, अरु धेरैले लेख्दैनन् । म खुसी छु, मदन दाइको पनि आत्मकथा आउन लागेको छ । यो मेरो पनि आत्मकथा हो, त्यसैले मलाई मेरै आत्मकथा आउन लागेझैं महसुस भइरहेको छ ।’
फाइनप्रिन्टका नीरज भारीले भने, ‘चार वर्ष अघि हामीले हरिवशं दाइको “चिना हराएको मान्छे” प्रकाशन गर्ने सौभाग्य प्राप्त गरेका थियौं । आज उहाँकै कलाकारिताका सहयात्री आदरणीय मदनकृष्ण श्रेष्ठ दाइको आत्मकथा पनि हामीले नै प्रकाशन गर्न पाउँदा म साह्रै हर्षित भएको छु ।’ उनले श्रेष्ठ र उनकी श्रीमनी यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गर्न लागेको पनि बताए ।
आत्मकथा लगभग एक लाख पाँच हजार शब्दको छ ।