१० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रूकुममा फेरि लडाइँको नाममा अभ्यास सुरू भएको छ । हतियारसहित लडाकुले पूर्वीरूकुममा ‘एक घर एक लडाकु’ अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ । पूर्वीगाविसमा मंगोल नेसनल पार्टीका कार्यकर्ताले हतियारसहित चन्दा आतंकसमेत मञ्चाउन थालेपछि स्थानीय जनता आतंकित भएका छन् । कम्ब्याट पोसाक र हतियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्न थाल्दा युवाहरू गाउँबाट भागेर कोही सदरमुकाम खलंगा त कोही काठमाडौंमा पुगेका छन् ।
आपूर्तिमन्त्री गणेशमान पुन प्वाङ निवासी हुन् । मंगोल नेसनल पार्टीका कमान्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक व्यक्ति आफ्नो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेका छन् । आइतबार सदरमुकाम खलंगा पुगेका एक युवाले भने, ‘नेपाली सेनाको जस्तो पोसाक र बुट लगाएका हुन्छन्, बन्दुक बोकेर आउँछन् र आफ्नो दस्तामा नगए हत्या गर्ने धम्की दिन्छन्, म त बल्ल भागेर आएँ ।’ सदरमुकामबाट दुईदिने पैदल दूरीमा रहेको जाङ गाविस सबैभन्दा बढी ग्रस्त आतंक छ । उक्त गाविसमाथि रहेको लेकमा हतियार बन्द तालिम दिने तालिम केन्द्रसमेत रहेको स्थानीयले बताए । त्यहाँ करिब १ सय ५० जनाको संख्यामा तालिम सञ्चालन भइरहेको स्रोतको दाबी छ ।
गाउँका हुनेखानेदेखि सामान्य नागरिकलाई अहिले घरबाट एक जना र १५ देखि ३० हजारसम्म चन्दा मागिएको छ । शिक्षकले अन्तिम चौमासिक तलब बुझेकाले उनीहरूलाई चन्दा बुझाउन दबाब आउने गरेको र उक्त गाविसका शिक्षक गाउँ जान नसकेको एक जनाले बताए । गाविस, विद्धालयलगायत सामाजिक संघसंगठन पूर्णरूपमा मंगोल नेसनल पार्टीको नियन्त्रणमा छन् तर डर–धम्कीका कारण आतंक सहेर बस्ने बाध्यता छ ।
‘गाउँमा प्रहरी चौकी त छ तर कानमा तेल हालेर बसेको छ,’ एक स्थानीय व्यापारीले भने, ‘जिल्लाको डिएसपीलाई समेत उक्त कुराबारे जानकारी गरायौं तर केही भएन, झन् त्रास बढ्दै छ ।’ उनका अनुसार २२ असारमा प्रत्येक घरबाट एक जना मान्छेलाई आफूहरूसँग हिँड्न उर्दी जारी गरेका छन् । ‘कहाँ लाने हुन्, के गर्ने हुन्, थाहा छैन’ तर २२ गते गाउँबाट मानिस हिँडाउँदै छन्,’ उनले भने । उनीहरूको धम्कीका कारण विद्धालय व्यवस्थापनदेखि वन समितिसम्मका अध्यक्षले राजीनामा दिइसकेको स्रोत बताउँछ ।
उपेन्द्र घर्तीमगर जाङ गाविस–२ खारखोला निवासी भारतीय पेन्सनरका छोरा हुन् । उनले विगतदेखि नै विभिन्न हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको बताइन्छ । केही समयअघि मंगोल नेसनल अर्गनाइजेसन नामक पार्टीमा आबद्ध थिए जुन निर्वाचन आयोगमा दर्तासमेत भयो । यही पार्टीको केन्द्रीय सदस्य बताउने उनले चार वर्षअघि देशका विभिन्न ठाउँमा मगर युवालाई तालिम दिने र बाहुन जातिलाई आक्रमण गर्ने योजना बनाएका थिए ।
उक्त योजना प्रहरीले थाहा पाएपछि रुकुमको सदरमुकाम १ सल्लेबाट करिब १५ लाख बराबरको कम्ब्याड पोसाक र लडाकुको विभिन्न दर्ज्यानी चिह्नसहितका सामग्री बरामद गरी हिरासतमा राखेको थियो । केही समय मात्र हिरासत बसेका उनी धरौटीमा रिहा भए । लामो समय भूमिगत भएका उनी अहिले आफ्नो जन्मभूमिबाट लडाकु दस्ता तयार गरी कतै आक्रमणको योजनामा छन् । उनले मंगोल नेसनल अर्गनाइजेसनबाट अलग भई मंगोल नेसनल पार्टी गठन गरेर भूमिगत गतिविधि सञ्चालन गरेका हुन् ।
(२०७३ असार २२ गतेको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)