गोरखा : गोरखाको बारपाकमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । सुलीकोट-२ बारपाकका १५ महिनाको बालकको मृत्यु भएको हो।
अहिलेसम्म ३५ जना भन्दा धेरैलाई झाडापखाला लागेको स्थानीय स्वास्थ्यचौकी प्रमुख अनील शाहले जानकारी दिनुभयो । बिगत दुईसातादेखि बारपाकमा झाडापखाला फैलिएको हो ।
‘झाडापखालाले एउटा १५ महिनाको बालक मरेको भन्ने थाहा पायौं’ उहाँले भन्नु भयो ‘घरमै झारफुक गरेर राखे । स्वास्थ्यचौकी ल्याएनन् । हामीले त मरेपछि मात्र जानकारी पायौं ।’ बिरामी दैनिक जसो बढिरहेको उहाँको भनाई थियो ।
‘दुई साता भयो ३५ जना भन्दा धेरै बिरामीको उपचार गरिसकेका छौं’ उहाँले भन्नु भयो-‘स्वास्थ्यकर्मी पनि छौं । औषधी पनि छ तर बर्खाको बेला भएर होला बिरामी चाहिँ बढिरहेका छन् ।’ गाउँमा पानी उमालेर खानुहोला भन्ने जनचेतना जगाउने खालको पोष्टर, पम्प्लेटिङ पनि गरिरहेको उहाँले बताउनु भयो ।
पानीको मुहानमा खराबी देखिएको शाहको भनाइ छ । ‘धाराको पानी धमिलो आउँछ । उमालेर खाने चलन पनि कम छ त्यही भएर समस्या भएको हो’ उहाँले भन्नुभयो। अन्नपुर्ण पोष्टले लेखेको छ।