रमेश पौडेल पोखरा । भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा भारतीय पाहुनाको आगमनले केही चहलपहल बढाएको छ । भारतीय पाहुनाको कारण पोखराको पर्यटन व्यवसायले राहतको महसुस गरेको छ ।
पोखरामा यतिबेला नेपालसँग सीमा जोडिएका भारतीय सहरका पर्यटक आएको पर्यटन व्यवसायी हरि शर्माले बताउनुभयो । पोखरामा यो बेला भित्रिने अधिकांश भारतीय पाहुना परिवार र साथीभाइसहितका पोखरामा रमाइरहेका छन् । व्यवसायीका अनुसार केही वर्षअघिसम्म यो बेला भारतीय धार्मिक पर्यटक बढी हुन्थे तर अहिले परिवारसहित वा साथीभाइको समूह बनाएर आउने धेरै छन् ।
पर्यटन व्यवसायी सोम थापाका अनुसार पोखराको पर्यटन क्षेत्रमा भारतीयको हिस्सा करिब ४० प्रतिशत रहेको छ । पोखरा आउने अधिक भारतीय पाहुना मुक्तिनाथ दर्शन गर्न जान्छन् तर अहिले आउने पाहुनामध्ये अधिक गर्मी छल्न आएका हुन् ।
धार्मिक पर्यटकमध्ये धेरैजसो पशुपतिनाथको दर्शन गर्नसमेत काठमाडौँ जाने गरेको व्यवसायी गणेश थापा बताउनुभयो ।
सुनौलीबाट बुटवल, पाल्पा, स्याङ्जा हुँदै भारतीय पर्यटक पोखरा भित्रिन्छन् । मुग्लिन–नारायणगढ सडक दिउँसोको समयमा बन्द हुने भएपछि भारतीय बुटवलबाट पाल्पा हुँदै सीधै पोखरा आएर घुमेर फर्किने गरेको उहाँले बताउनुभयो ।
पश्चिमाञ्चल होटल सङ्घले भारतीय पर्यटकलाई नेपाल भित्र्याउनकै लागि विगत चार वर्षदेखि लगातार भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ सञ्चालन गर्दै आएको छ । त्यसको सकारात्मक परिणाम अहिले देखिन थालेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनको भनाइ छ ।
भारतीय पर्यटकको बसाइ अवधि पनि अन्य पर्यटकको भन्दा धेरै हुने गरेको उहाँले बताउनुभयो । पोखरामा हाल सानाठूला गरी करिब करिब छ सय होटल छन् । ती होटलमा करिब २० हजार बेड रहेको व्यवसायीको भनाइ छ । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको क्षेत्रमा मात्र करिब एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ ।