पूर्वमन्त्रीसँग मिलेर काठमाडौंका जिशिअले विद्यालयको खातामा आँखा गाडेपछि…

पूर्वमन्त्रीसँग मिलेर काठमाडौंका जिशिअले विद्यालयको खातामा आँखा गाडेपछि…


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असार २०७३
  • 11.1K
    Shares

पञ्चायतकालीन मन्त्री नरबहादुर बुढासँगको मिलेमतोमा काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले जोरपाटीस्थित बुद्ध एकेडेमीको खातामा आँखा गाडेपपछि चार सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गोकर्णेश्वर नगरपालिका–१३ स्थित जोरपाटीमा अवस्थित बुद्ध एकेडेमी आवासीय विद्यालयमा विगत २५ बर्षदेखि अनाथ र असहाय वालबालिका अध्ययन गर्दै आएका छन् ।

दुर्गमका अनाथ तथा असहाय वालबालिकालाई होस्टेलको सुविधासहित अध्यापन गर्दै आएको सो विद्यालयको बैंक खाता विगत चार महिनादेखि जिल्ला शिक्षा अधिकारीले रोक्का गरिदिएका छन् । यसरी पूर्वमन्त्रीसँगको मिलेमतोमा शिक्षा अधिकारीले बैंक खाता रोक्का गरिदिँदा छात्रवासमा बसेर अध्ययन गर्ने ३०० विद्यार्र्थी मारमा परेका छन् ।

त्यस्तै विद्यालयमा कार्यरत ५० जनाभन्दा बढी शिक्षक तथा कर्मचारीले लामो समयदेखी तलव नपाउँदा त्यसको प्रत्यक्ष असर पठन पाठनमा देखा परेको छ, जसका कारण कुल चार सय विद्यार्र्थी मर्कामा परेका हुन् ।

पूर्वमन्त्रीलाई हटाएपछि शुरु भयो विवाद

पञ्चायतकालीन समयमा स्थानीय विकास राज्यमन्त्री बनेका नरबहादुर बुढा २०७२ पुससम्म बुद्ध एकेडेमीको अध्यक्ष थिए । एसएलसी फेल भएका बुढाले गाडी दुरुपयोग गरेको र विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि गठन भएको छानविन समितिले उनलाई पदमुक्त गरेको थियो ।

boudhha school story rajesh (1)‘‘अखिल नेपाल हिमाली बौद्ध संघ’ नामक गुठीले विदेशी दाताहरुसँग सहयोग लिएर संचालन गर्दै आएको बुद्ध एकेडेमीको खातामा करोडौं पैसा भएको थाहा पाएका बुढाले आफु पदमुक्त भएपछि पनि सो विद्यालयलाई आफ्नो पञ्जाबाट फुत्काउन चाहेनन् ।’ एक अभिभावक भन्छन्, ‘नरबहादुरलाई शिक्षा मन्त्रालयले पदमुक्त गर्ने निर्णय लिएसँगै बनेका नयाँ अध्यक्ष आङ ङिमा शेर्पालाई बुढाले काम गर्न दिएनन् ।

आफुलाई मन्त्रालयले हटाउन लागेको थाहा पाएपछि २०७२ असार दोस्रो साता काठमाडौंका तत्कालीन सिडिओसँगको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको विधान अनुसार चल्दै आएको ‘अखिल नेपाल हिमाली बौद्ध संघ’ विगठन गराएका बुढाले फेरी त्यही नामको गुठी दर्ता गराएर आफु निकटका सोनाम छिरिङ शेर्पा, उनको छोरा सोनामा वाङ्छेन शेर्पा र भतिजा आङदोर्जे शेर्पालाई विद्यालय जिम्मा लगाउने प्रयास गरे । उनको अभियानलाई जिल्ला शिक्षा अभिकारी गौतमले साथ दिएको आरोप लाग्यो ।

शिक्षा मन्त्रालयको छानविन समितिले पदमुक्त गर्नुअघी नै बैंक खाताबाट लाखौं निकालेर बुढाले नव गठित ‘अखिल नेपाल हिमाली बौद्ध संघ’कोठे अधिवेशन गोकर्णको एक रिसोर्टमा गराएको विद्यालय स्रोतले जनाएको छ ।
दर्ता भएको गुठी विगठनको अधिकार मन्त्रिपरिषद्लाई मात्रै भएपनी तत्कालिन काठमाडौंका सिडिओले विगठन गरेपछि नरबहादुर बुढाले उनिभन्दा पछि बैधानिक अध्यक्ष बनेका आङ ङिमा शेर्पा लाई अवैधानिक भन्दै पुनरावेदन अदालत पाटनमा मुद्धा हाले । विद्यालयको विवाद अख्तियार सम्म पुग्यो ।

शिक्षा समितिलाई झुक्याएर अस्थायी अध्यक्ष

आङ ङिमा शेर्पाका विरुद्ध अदालतमा मुद्धा विचाराधीन भएको बेला जिल्ला शिक्षा समिति काठमाडौंले गुठियार मध्येको एक जनालाई अस्थायी अध्यक्ष बनाएर विद्यालयको कामकाज सुचारु गर्न भनेको थियो । तर, जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले सोही तजबिजी अधिकारको फाईदा उठाउँदै पदीय मर्यादाको दुरुपयोग गरेर सार्वजनिक शैक्षिक गुठीको विधान विपरीत आफु र नर बहादुर बुढाको अनुकुल पात्र सोनाम वाङ्छेन शेर्पालाई अस्थायी अध्यक्ष बनाईदिए ।

boudhha school story rajesh (4)सोनाम वाङ्छेनको विरुद्ध अख्तियारमा उजुरी पर्यो, अख्तियारले विद्यालयका प्रधानाध्यपक र लेखापालको हस्ताक्षर चल्नेगरी विद्यालयको खाता संचालन गरेर तत्कालको लागी समस्या समाधान गर्न निर्देशन दिएपनी शिक्षा अधिकारीले बैंक खाता रोक्का गरिदिए । ‘शिक्षा अधिकारी आफैंले बनाएको अध्यक्ष सोनाम वाङ्छेनका हस्ताक्षर चल्नेगरी खाता संचालन गराउन चाहन्छन्’ अखिल नेपाल हिमाली बौद्ध संघका एक पदाधिकारीले भने, ‘त्यसपछि शिक्षा अधिकारी र नर बहादुर दुवैको स्वार्थ पुरा हुन्छ, विद्यालयको पैसामा मनोपोली गर्न पाउँछन् ।’

रातारात नयाँ प्रधानाध्यापक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्षको विषयमा मुद्धा चलिरहेकोले विषयमा मौन रहेर विद्यालयका दैनिक समस्या समाधानका लागी प्रअ र लेखापालको हसक्षर चल्नेगरी खाता संचालन गर्ने ब्यवस्था मिलाउन भन्दै गत जेठ २४ गते निर्देशन दिएको थियो । अख्तियारले यस्तो निर्देशन दिनुअघि नै बुद्ध एकेडेमीमा विमल निरौला प्रधानाध्यापक र लेखापाल गोविन्द प्रसाद पौडेल कार्यरत थिए ।

boudhha school story rajesh (2)अख्तियारको पत्र पाउनासाथ शिक्षा अधिकारी गौतमले रातारात राधीका दाहाललाई नयाँ प्रधानाध्यापक तोकेको पाईएको छ । नविल बैंकको बौद्ध शाखाका प्रवन्धक कृष्ण थापाले शिक्षा अधिकारीले भने बमोजिम सोनाम वाङ्छेन र राधिका दाहालको हस्ताक्षर चल्नेगरी खाता सुचारु गरिसकेको बैंक स्रोतले जनाएको छ । ‘यो प्रकरणमा बैंक प्रवन्धक कृष्ण थापाको पनि मिलेमतो रहेको देखिन्छ’ विद्यालयका एक शिक्षकले भने, ‘अन्यथा विमल निरौला प्रअ हुँदाहुँदै अर्को प्रअको नाममा खाता संचालन गर्न किन दिईयो ?’

यसबारे प्रतिक्रिया लिन काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमसँग सम्पर्क गर्दा उनले भने, ‘मैले कुनै विद्यालयको खाता रोक्का गरेको छैन, शिक्षकहरुले नियमअनुसार तलव पाईरहेका छन् ।’ त्यस्तै राधिका दाहाललाई रातारात अध्यक्ष बनाएको अस्विकार गर्दै उनले भने, ‘त्यसरी कुनै महिला प्रिन्सिपलको नाममा खाता संचालन गर्ने अधिकार मैले दिएको छैन ।’

गौतमले नियमअनुसार शिक्षक कर्मचारीले तलव पाईरहेको जिकिर गरेपनी विद्यालयका प्रधानाध्यापक विमल निरौलाले बिचमा एक दिन खाता संचालनमा आउँदा ०७२ फागुन र चैतको तलव वितरण गरिएपनि फेरी खाता बन्द भएकाले तलव खुवाउन नपाएको जानकारी दिए । यस विषयमा पूर्व मन्त्री बुढाको प्रतिक्रिया आउन वाँकी छ । उनीसँग प्रतिक्रिया लिने प्रयास भएपनि उनले फोन उठाएनन् ।

प्रतिक्रिया