राजस्व अनुसन्धान विभागले दुई किसिमका खातापाता बनाएर ठूलो रकम करछली गर्ने ज्ञानेन्द्रलाल प्रधान सम्बद्ध कम्पनीलाई ३२ करोड ६५ लाख रुपैयाँ कर तिराउने निर्णय गरेको छ । प्रधानले करप्रयोजनका र वास्तविक कारोबारका छुट्टाछुट्टै विवरण राख्ने गरेको विभागले फेलापारेको छ ।
प्रधानको स्वामित्का त्रिशक्ति केवल इन्डष्ट्रिज, हाइड्रो सोलुसन, त्रिशक्ति इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडमा कर छलेको फेलापारेको छ । प्रधानले कर प्रयोजन र वास्तविक गरी दुई वटा अभिलेख राख्ने गरेको विभागले बरामद गरेको प्रधानको ल्यापटपबाट खुलेको छ ।
प्रधानको बेडरुममा बरामद गरेको ल्यापटपमा अनुसन्धानका क्रममा उनले कर तिर्ने प्रयोजनका लागि र वास्तविक हिसाब राख्ने गरेको खुलासा भएको थियो । राजस्व अनुसन्धान विभागले २०७२ मंसिर २० गते प्रधानको ज्ञानेश्वरस्थित घर, ज्ञानेश्वरमै रहेको त्रिशक्ति केबुलको कार्यालय, सीतापाइलास्थित गोदाम, हाइड्रो सोलुसनको स्वयम्भूस्थित कार्यालय, त्रिशक्ति केबुलको नवलरासीको गंैडाकोटस्थित उत्पादन स्थलमा छापा मारी अनुसन्धान सुरु गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
विभागले अनुसन्धानका क्रममा कम्प्युटर, प्रधानले चलाउने ल्यापटप, खाता विवरण, बिक्री बिलबिजक, स्टक नियन्त्रणमा लिएको थियो । कर प्रयोजनको लागि उल्लेख गरिएको रकम भन्दा वास्तविक कारोबारको २२ करोड रुपैयाँ बढी थियो । बढी भएको रकममा जरिवाना, ब्याज जोडेर कर निर्धारण गरिएको विभागले जनाएको छ । आर्थिक बर्ष २०६५/०६६ देखि २०७१/०७२ सम्मको अभिलेखलाई आधार मानी कर निर्धारण गरिएको छ ।
राजस्व छलीमा चार बर्षभित्रको कारोबार मात्र अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ । विभागले त्रिशक्ति केवुलको २१ करोड ६३ लाख ८८ हजार कर निर्धारण गरेको छ । हाइड्रो सोलुसनलाई ५ करोड ६२ लाख १५ हजार कर निर्धारण गरिएको छ । त्रिशक्ति इन्भेष्टमेन्ट कम्पनीमाथि ५ करोड ३९ लाख ६९ हजार रुपैयँँ कर निर्धारण गरिएको छ । उनले आर्थिक बर्ष २०६८/०६९ मा त्रिशक्ति इन्भेष्टमेन्टको मुनाफाबाट ३२ करोड रुपैयाँ लाभांश लिएका थिए ।