पोखरामा अवैध बालुवा दोहन गर्ने चार टिप्पर र एक स्काभेटरलाई एक लाख २२ हजार जरिवाना

पोखरामा अवैध बालुवा दोहन गर्ने चार टिप्पर र एक स्काभेटरलाई एक लाख २२ हजार जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 1.2K
    Shares

पोखरा, १९ कार्तिक २०८३।

पोखरामा अवैध बालुवा दोहन गर्ने चार टिप्पर र एक स्काभेटरलाई एक लाख २२ हजार जरिवाना गरिएको छ।

सेती नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरेको भन्दै कास्की प्रहरीले नियन्त्रणमा लिएका चार वटा टिप्पर र एउटा स्काभेटरलाई पोखरा महानगरपालिकाले एक लाख २२ हजार जरिवाना तिराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पछिल्लो दुई दिनमा गरिएको कारबाहीका क्रममा पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

प्रहरी चौकी घाचोकबाट खटिएको टोलीले गत मंगलबार राति करिब १०:२० बजे पोखरा महानगरपालिका वडा नं. १९ दावाघाट स्थित सेती नदी किनारबाट अवैध रूपमा बालुवा लोड गर्दै गरेको लु २ ख ८१७ नम्बरको टिप्पर नियन्त्रणमा लिएको थियो।

त्यसको भोलिपल्ट १८ गते बिहान १०:३० बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा-२८ स्याङखुदीबाट G AA 0124 र ग ०१००१ ख ०११८ नम्बरका दुई वटा टिप्पर, वडा नं. १७ ढुङ्गेसाँघुबाट ग १ क ४३१८ नम्बरको टिप्पर र वडा नं. २७ तालचोकबाट ग १ क ३८७० नम्बरको स्काभेटर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएकोमा महानगरपालिकाले १ लाख २२ हजार रुपैयाँ जरिवाना असुल गरी छाडेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार