बैतडी , १८ कार्तिक २०८३।
बैतडीको मेलौलीमा आज साँझ जिप दुर्घटनाग्रस्त हुँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १३६८ नम्बरको जिप पाटन-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-१ स्थित सौडानी खोलामा बुधबार बेलुका करिब ८ बजे दुर्घटनाग्रस्त हुँदा एक जना महिलाको मृत्यु भएको हो भने अन्य छ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-२ की ३५ वर्षीया सुना मंगोलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
सोही दुर्घटनामा परी पञ्चेश्वर-२ कै २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाशराम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करनसिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोषराम लुहार घाइते भएका छन्।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा उपचार भइरहेको र अवस्था हेरेर थप उपचारका लागि अन्यत्र रेफर गरिने प्रहरी निरीक्षक सिंहले बताए ।