रौतहट, १४ कार्तिक २०८३।
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।
दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना. २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल बिहिबार साँझ साढे ६ बजे जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार , दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिण्डा घर भएका मोटरसाइकल चालक चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए। दुवैलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएकोमा चिकित्सकले राति ८ बजेर १० मिनेटमा सुभाषलाई मृत घोषणा गरेका थिए। निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।