स्थानीयकै सहयोगमा बन्यो भोटेकोशीमाथि फड्के पुल

स्थानीयकै सहयोगमा बन्यो भोटेकोशीमाथि फड्के पुल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८३
  • 0
    Shares

रसुवा, १२ कार्तिक २०८३।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसी र वडा नम्बर ३ बृदिमलाई जोड्ने भोटेकोशी खोलामाथिको फड्के पुल स्थानीयवासीको आर्थिक तथा सामूहिक सहयोगमा निर्माण सम्पन्न भएको छ। जोखिमपूर्ण खोलामाथि एक सातासम्म अथक मेहनत गरेपछि स्थानीयकै पहलमा पुल निर्माण सम्पन्न भएको निर्माणमा संलग्नहरूले बताएका छन्।

पुल निर्माणका लागि स्थानीयवासीले आर्थिक सहयोग गर्नुका साथै आवश्यकताअनुसार खाजा उपलब्ध गराएर निर्माण कार्यमा साथ दिएका थिए। जिल्ला प्रशासन कार्यालयले पुल निर्माणका लागि आवश्यक लट्ठा उपलब्ध गराएको थियो भने निर्माणस्थलको सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।

स्थानीयवासी, निर्माणमा खटिएका व्यक्तिहरू, प्रशासन र सुरक्षाकर्मीको सामूहिक प्रयासबाट पुल निर्माण सम्भव भएको हो। जोखिमपूर्ण भोटेकोशी खोलामाथि पुल तयार भएपछि स्याफ्रुबेसी र बृदिम क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, बाढीका कारण आफ्ना आफन्त गुमाएका टिमुरे र स्याफ्रुबेसी क्षेत्रका स्थानीयवासीले मृतकहरूको सम्झनामा फड्के पुलमा लुङतरसमेत राखेका छन्। आफन्त गुमाउनुको पीडालाई स्मरण गर्दै उनीहरूले दिवंगतहरूको सम्झनामा लुङतर राखेका हुन्।

स्थानीयवासीको पहलमा निर्माण भएको पुलले आवतजावत सहज बनाउने मात्र नभई विपद्का बेला समुदायबीचको एकता, सहयोग र सहकार्यको उदाहरणसमेत प्रस्तुत गरेको छ।

आफ्नै स्रोत, श्रम र सहयोग जुटाएर जोखिमपूर्ण स्थानमा पुल निर्माण गर्नु स्थानीयको सामूहिक इच्छाशक्ति र एकताको प्रतिफलका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार