पोखरा, २४ भदौ २०८३।
पोखराको बुद्धचोक क्षेत्रमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई दिउँसो १२ः५० बजे बुद्धचोक क्षेत्रमा ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ आरुचौर निवासी २६ वर्षीय नवराज दर्जीको उपचारका क्रममा साविकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।