कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रुङ खोला पहिरोले थुनिएको आशंका, मोदीखोला आसपासका बस्तीलाई सुरक्षित स्थानमा जान प्रहरीको आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रुङ खोला पहिरोले थुनिएको आशंका, मोदीखोला आसपासका बस्तीलाई सुरक्षित स्थानमा जान प्रहरीको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ भाद्र २०८३
  • 1.5K
    Shares

कास्की, २३ भदौ २०८३।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोका कारण थुनिएको जानकारी प्राप्त भएपछि मोदीखोला आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मोदीखोलाको सहायक खोला किम्रुङ खोलामा मंगलबार साँझ करिब ८:३० बजे पहिरो गई खोला थुनिएको जानकारी प्राप्त भएको हो। यसअघि करिब दुई घण्टादेखि किम्रुङखोलामा पानीको बहाव अत्यन्तै न्यून भएको स्थानीयस्तरबाट जानकारी आएको प्रहरीले बताएको छ ।

खोला थुनिएपछि एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोदीखोला आसपासका बस्तीहरू वीरेठाँटी, स्याउलेबजार लगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई बस्न तथा विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

यसैबीच, अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीको नेतृत्वमा टोली अवस्थाको स्थलगत निरीक्षण तथा आवश्यक समन्वयका लागि वीरेठाँटीतर्फ प्रस्थान गरेको जनाइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई खोला तथा नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया