हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजानी गरेको आरोपमा स्वास्थ्य शाखाका कर्मचारीसहित दुई जना पक्राउ

हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजानी गरेको आरोपमा स्वास्थ्य शाखाका कर्मचारीसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ भाद्र २०८३
  • 912
    Shares

पोखरा, भदौ २३ २०८३ ।

हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजानी गरेको आरोपमा सोही गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी करिब ४५ वर्षीय धनराज ढकाल र ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी रहेका छन्।

प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ बजे गाउँपालिका कार्यालयमा आगलागी भएको थियो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जनाको घटनामा संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई कानुनी प्रक्रिया पूरा गरी हुम्ला जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारण तथा पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अनुसन्धान पूरा भएपछि आगलागीको कारण र घटनासम्बन्धी थप तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

आगलागीका कारण गाउँपालिका कार्यालयको जिन्सी शाखामा रहेका चारवटा काठका र्‍याग, एउटा सुत्ने खाट, एउटा टेबल र एउटा सोलार ब्याट्री जलेर नष्ट भएका छन्। साथै, आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका महत्वपूर्ण कागजातसमेत आगलागीमा जलेर नष्ट भएको जनाइएको छ।

प्रतिक्रिया