पोखरा, २३ भदौ २०८३ ।
पोखरा महानगरपालिका–१९ चितेपानीस्थित एक सहकारी संस्थामा चोरी भएको छ । अपरिचित व्यक्तिहरूले सहकारीको मुख्य गेटको ताला फोडेर कार्यालयमा रहेको सीसीटीभीको डीभीआर बक्स चोरी गरेका हुन् ।
भदौ २२ गते राति श्री अकलादेवी महिला बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको जानकारी सहकारीकी व्यवस्थापक पार्वती थापा क्षेत्रीले राति करिब १०ः१५ बजे वडा प्रहरी कार्यालय बगरलाई गराएकी थिइन् ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमान्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट करिब १२ किलोमिटर उत्तरमा पर्छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ ।