काठमाडौँ, २२ भदौ २०८३।
सैनिक पोशाक तथा नेपाल सेनासँग मिल्दोजुल्दो संगठनात्मक संरचना र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’ नामक संस्थाको दर्ता खारेज गरिएको छ। दर्ता खारेज भएसँगै संस्थाका गतिविधि सञ्चालनमा समेत रोक लगाइएको बताइएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक सेवा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको थियो। तर पछिल्लो समय संस्थाका सदस्यहरू सैनिकसँग मिल्दोजुल्दो हरियो प्यारामिलिटरी पोशाक लगाएर विभिन्न गतिविधिमा सहभागी हुन थालेपछि यसको वैधानिकता र उद्देश्यलाई लिएर प्रश्न उठेको थियो।
विशेषगरी भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा संस्थाका सदस्यहरू सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि ‘ग्रिन आर्मी’ व्यापक विवादमा आएको थियो। सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट गैरराज्य संस्थाले सुरक्षाकर्मी वा नेपाली सेनासँग मिल्दोजुल्दो पहिचान र संरचना प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा बहस शुर भएको थियो।
संस्थालाई यसअघि हरियो रंगको प्यारामिलिटरी शैलीको पोशाक तथा सैनिक शैलीसँग मिल्दोजुल्दो दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषयसमेत विवादमा परेको बताइएको छ। संस्थाको पोशाक, संगठनात्मक स्वरूप र फिल्डमा देखिने प्रस्तुतीकरणले सर्वसाधारणमा नेपाली सेना वा अन्य सुरक्षा निकायसँग भ्रम सिर्जना गर्न सक्ने भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका थिए।
सैनिक स्रोतका अनुसार संस्थाको दर्ता खारेज भएपछि अब ‘ग्रिन आर्मी’को नाममा भइरहेका संगठित गतिविधि सञ्चालन गर्नसमेत प्रतिबन्ध लाग्नेछ। यद्यपि दर्ता खारेजको विस्तृत कानुनी आधार र यससम्बन्धी निर्णय प्रक्रियाबारे सम्बन्धित निकायबाट थप औपचारिक विवरण आउन बाँकी रहेको छ।
विवादमा आएको उक्त संस्थाका प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ। संस्थाको दर्ता खारेज भएपछि यससँग आबद्ध सदस्य, सम्पत्ति तथा यसअघि सञ्चालन हुँदै आएका कार्यक्रमको व्यवस्थापन कसरी हुने भन्ने विषयमा पनि चासो बढेको छ।
सुरक्षा निकायसँग मिल्दोजुल्दो पोशाक, चिह्न र संगठनात्मक संरचना प्रयोग गर्ने गैरसरकारी वा गैरनाफामूलक संस्थाको नियमनलाई लिएर यो घटनाले पुनः बहस सिर्जना गरेको छ।