नुवाकोट, २० भदौ २०८३ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुल बगेर सडक सञ्जालबाट विच्छेद भएको नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले वैकल्पिक पुल जडानको काम थालेको छ।
बाढीले तादी नदीमाथिको पुल बगाएपछि गल्छी–देवीघाट हुँदै विदुरतर्फको आवागमन प्रभावित भएको थियो। सडक सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली परिचालन गरिएको छ। सेनाले पुल जडान गर्न आवश्यक आधार संरचना (बेस) निर्माणको काम अघि बढाएको जनाएको छ।

पुल निर्माणका लागि गजुरीमा राखिएको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्याइसकिएको र बाँकी सामग्रीसमेत ढुवानी भइरहेको सेनाले जनाएको छ। सामग्री उपलब्ध भएसँगै पुल जडानको कामलाई तीव्रता दिइनेछ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीले नुवाकोटसहित प्रभावित क्षेत्रमा ठूलो मात्रामा सडक तथा पुलमा क्षति पुर्याएको थियो। अत्यावश्यक सडक सम्पर्क पुनःस्थापित गर्न क्षतिग्रस्त पुल मर्मत तथा अस्थायी बेलिब्रिज/एक्रो ब्रिज जडानलाई प्राथमिकता दिइएको छ।
यसै क्रममा गल्छी–देवीघाट सडकखण्डको ठूलो खोला पुलमा पनि मर्मत तथा लेदो हटाउने काम जारी छ। तादी खोलाको पुल बगेपछि भने वैकल्पिक मार्गमार्फत आवागमन व्यवस्थापन गरिएको छ।
बाढीबाट प्रभावित नुवाकोट, रसुवा, धादिङलगायत क्षेत्रमा नेपाली सेनाले सडक खुलाउने, खोज तथा उद्धार, शव व्यवस्थापन र आपत्कालीन उपचारलगायतका कामलाई पनि निरन्तरता दिइरहेको छ। प्रभावित क्षेत्रका सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ।