पोखरा, साउन ८ , २०८३।
लहान । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका एक कर अधिकृत घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम.एस. पाललाई पाँच लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार जिल्ला सिरहा, लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत पालले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिई घुस रकम माग गरेको भन्ने सूचना तथा उजुरी प्राप्त भएको थियो।
उक्त उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीबाट लिएको पाँच लाख रुपैयाँ र एक थान मोबाइलसहित आज (मिति २०८३/०४/०७) आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारले पक्राउ परेका कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।