पोखरा, ३२ असार २०८३।
२५ जनाको ज्यान लिइसकेको जङ्गली हात्ती ‘ध्रुवे’को गतिविधिमाथि थप प्रभावकारी निगरानी राख्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जले स्याटेलाइट प्रविधिमा आधारित नयाँ रेडियो कलर जडान गरेको छ। साथै सम्भावित जोखिम न्यूनीकरणका लागि ध्रुवेको दाह्रा पनि काटेर छोट्याइएको छ।
निकुञ्जका अनुसार बुधबार राति करिब १०:३० बजे सुखीभार पोस्ट नजिक ध्रुवेलाई डार्ट प्रयोग गरी बेहोस बनाएपछि नयाँ स्याटेलाइट रेडियो कलर जडान गरिएको हो। उक्त अभियान राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीय सरोकारवालाको समन्वयमा सम्पन्न भएको जनाइएको छ।
ध्रुवेले पछिल्लोपटक असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहट्टामा आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। त्यस घटनापछि स्थानीयवासीले ध्रुवेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गर्दै आएका छन्।
निकुञ्जका अनुसार नयाँ स्याटेलाइट रेडियो कलर अघिल्लो उपकरणभन्दा बढी आधुनिक र प्रभावकारी छ। यसमार्फत हात्तीको अवस्थिति वास्तविक समयमा नजिकबाट निगरानी गर्न, जियोफेन्सिङ प्रणालीमार्फत जोखिम क्षेत्रमा प्रवेश गर्नेबित्तिकै सूचना प्राप्त गर्न तथा स्थानीय तह र सरोकारवालालाई समयमै जानकारी उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।
ध्रुवेको शरीरमा यसअघि पनि रेडियो कलर जडान गरिएको भए पनि यसपटक प्रयोग गरिएको उपकरण थप उन्नत प्रविधियुक्त रहेको निकुञ्जको दाबी छ।
यद्यपि, निकुञ्ज आसपासका बासिन्दाले रेडियो कलर जडान मात्र पर्याप्त नभएको बताउँदै ध्रुवेलाई स्थायी रूपमा नियन्त्रणमा राख्ने दीर्घकालीन तथा प्रभावकारी व्यवस्थापनको माग दोहोर्याएका छन्। उनीहरूका अनुसार निगरानी प्रविधिले जोखिम घटाउन सहयोग गरे पनि मानव–हात्ती द्वन्द्वको स्थायी समाधानका लागि थप प्रभावकारी कदम आवश्यक छ।