घान्द्रुकमा किम्रुङ खोलाको बाढीले घान्द्रुक जाने बाटो बन्द : पुल, होटल र रेस्टुरेन्ट पनि बगायो

घान्द्रुकमा किम्रुङ खोलाको बाढीले घान्द्रुक जाने बाटो बन्द : पुल, होटल र रेस्टुरेन्ट पनि बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०८३
  • 798
    Shares

पोखरा, २९ असार २०८३ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आइतबार दिउँसो आएको बाढीले अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गअन्तर्गत पर्ने महत्वपूर्ण झोलुङ्गे पुल बगाएको छ। बाढीका कारण स्याउली बजारका केही बस्ती तथा संरचनामा समेत क्षति पुगेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार दिउँसो करिब ३:३० बजे परेको अविरल वर्षापछि किम्रुङ खोलामा एक्कासि आएको बाढीले पुल बगाएको हो। पुल बगेसँगै घान्द्रुक–छोम्रोङ हुँदै अन्नपूर्ण पदमार्गमा आवतजावत गर्ने पर्यटक तथा स्थानीयवासीको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अध्यक्ष केसीका अनुसार किम्रुङ खोलाको माथिल्लो भेगबाट पहिरोसँगै ढुंगा, माटो, रुख तथा अन्य सामग्री मिसिएको ठूलो भेल तल झर्दा बाढीको वेग अत्यधिक बढेको थियो। सोही कारण पुल जोगाउन नसकिएको उनले जानकारी दिए।

बाढीको प्रभाव अन्नपूर्ण गाउँपालिका–८ को स्याउली बजारमा पनि परेको छ। गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार दिलिप गुरुङको रेष्टुरेन्ट बाढीले बगाएको छ भने जगन पुनको घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, विरेठाँटी क्षेत्रमा बाढी पिच सडकसम्म पुगेपछि खोला किनारका बस्तीहरू पनि प्रभावित भएका छन्।

घटनालगत्तै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नम्बर–११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनमा जुटेको छ।

यसैबीच, लगातारको वर्षासँगै मोदी खोलाको जलसतह पनि तीव्र रूपमा बढेकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। नदी आसपास नजान, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा अत्यावश्यक कामबाहेक आज र भोलि यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

मौसममा तत्काल सुधार आउने संकेत नदेखिएकाले सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकलाई सतर्क रहन अध्यक्ष केसीले आग्रह गरेका छन्।

प्रतिक्रिया