पोखरा, २८ असार २०८३।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा करिब साढे तीन घण्टा लामो भेटवार्ता भएको छ।
स्रोतका अनुसार बिहान करिब ११:३० बजे एक्लै लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो करिब ३:१५ बजे मात्रै बाहिरिएका थिए। भेटवार्तामा सरकारका समसामयिक गतिविधि, सरकारको सय दिनको कार्यसम्पादन समीक्षा, मन्त्रिपरिषद् पुनर्गठन, रास्वपाको संगठन विस्तार तथा सुकुम्बासी व्यवस्थापनलगायत विषयमा छलफल भएको बताइएको छ। Media Baaji
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार सरकारको आगामी कार्यदिशा, केही मन्त्रालयमा सम्भावित हेरफेर तथा रास्वपाको संगठनात्मक संरचना टुंग्याउने विषयमा समेत दुवै नेताबीच कुराकानी भएको थियो।
रास्वपाको विधानअनुसार पार्टीमा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तर पदाधिकारी मनोनयन, जिम्मेवारी बाँडफाँट तथा केही केन्द्रीय नेताको भूमिकाबारे अझै अन्तिम सहमति हुन बाँकी रहेको स्रोतले जनाएको छ।
भेटमा पार्टी विधानका केही व्यवस्थामाथि पनि छलफल भएको बताइएको छ। विशेषगरी संसदीय दलको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया, वरिष्ठ नेताको संख्या तथा सभापतिको नीतिगत निर्देशनसम्बन्धी प्रावधानलाई लिएर पार्टीभित्र फरक मत देखिएको स्रोतको दाबी छ।
सार्वजनिक विधानअनुसार सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरे वा संसदीय दलमा अविश्वास प्रस्ताव पारित भए संसदीय दलको नेताको पद रिक्त हुन सक्ने व्यवस्था गरिएको छ।
यद्यपि, प्रधानमन्त्रीको सचिवालय र रास्वपाले भेटवार्तापछि कुनै औपचारिक विज्ञप्ति जारी गरेका छैनन्। त्यसैले भेटमा भएका सबै विषयको आधिकारिक पुष्टि भने हुन बाँकी छ।