रोल्पामा ब्रेक फेल भएर बस पल्टियो, १४ यात्रु घाइते

रोल्पामा ब्रेक फेल भएर बस पल्टियो, १४ यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ असार २०८३
  • 912
    Shares

rolpa bus accident , रोल्पामा बस दुर्घटना

पोखरा, २४ असार २०८३।

रोल्पामा ब्रेक फेल भएर बस पल्टिदा १४ जना यात्रु घाइते भएका छन्।

रोल्पाको घर्तिगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको राप्ति समितिको बस त्रिवेणी गाउँपालिका–७ गाइबिसौना स्थित घोराही–घर्तीगाउँ शहीद मार्गमा बुधबार दिउँसो करिब ३ः३५ बजे दुर्घटनाग्रस्त हुँदा १४ जना यात्रु घाइते भएका हुन्।

ओरालो सडकमा ब्रेक फेल भएर उक्त बस पल्तिएर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बसमा करिब २२ देखि २५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका १४ जनाको उद्धार गरी स्वास्थ्य चौकी नुवागाउँमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँबाट प्रहरी सहायक निरीक्षक प्रेम हमालको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।बस चालक माडी गाउँपालिका–२ निवासी २६ वर्षीय चन्द्रवीर पुन रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक हाल एकतर्फी सञ्चालनमा आएको छ। थप उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा ९ जना तथा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

प्रतिक्रिया