पाँचथर जिल्ला कारागारका बन्दीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु

पाँचथर जिल्ला कारागारका बन्दीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ असार २०८३
  • 1.9K
    Shares

deadbody in koshi hospital

पोखरा, २४ असार २०८३।

पाँचथर जिल्ला कारागारका एक बन्दीको उपचारका क्रममा बिराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रहने गरी पाँचथर जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका बन्दी पाँचथरको हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको बुधबार उपचारका क्रममा बिराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार , कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राईलाई असार १८ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो। यसअघि जिल्ला अदालत पाँचथरले २०८२ मंसिर ७ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनी जिल्ला कारागार पाँचथरमा रहेका थिए।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सुरुमा जिल्ला अस्पताल फिदिममा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल रेफर गरिएको थियो।

उपचारका क्रममा राईको सुरक्षा व्यवस्थापन मोरङ कारागारले गर्दै आएको थियो। मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार उपचारमा संलग्न चिकित्सकहरूले राईलाई मुटु, मिर्गौला र फोक्सोसम्बन्धी पुरानै स्वास्थ्य समस्या रहेको बताएका थिए।

कारागारका अनुसार पछिल्लो समय उनलाई अचानक सास फेर्न गाह्रो हुने तथा शरीर सुन्निने समस्या देखिएको थियो। राईविरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत पाँचथरमा विचाराधीन रहेको छ।

प्रतिक्रिया