पोखरा, २३ असार २०८३।
दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता रहेको गाडी अझै फेला परेको छैन भने बेपता रहेका चार जना यात्री मध्ये एक जनाको शब कैलालीमा भेटिएको छ।
गएको असार १८ गते कर्णाली नदीमा खसेर बेपत्ता भएको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी अझै नभेटिएको प्रहरीले बताएको छ। तर सोही गाडीसंगे बेपत्ता भएका चार जना यात्री मध्ये पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवाको शब् आज कैलालीको मोहन्याल गाउँपालिका–६,स्थित नदीमा भेटिएको हो। मृतकका छोरा रवीन्द्र तिरुवाले शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा परेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडीमा मेखे तिरुवासहित रास्कोट नगरपालिका–२, कालिकोटका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८, सुर्खेतका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सवार थिए। उनीहरू अझै बेपत्ता छन्।
उक्त गाडी असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटनामा परेको थियो। सडकबाट कर्णाली नदीमा खसेपछि गाडी यात्रुसहित बेपत्ता भएको थियो।
बेपत्ता व्यक्तिहरू तथा गाडीको खोजीका लागि उच्च प्रविधियुक्त उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको छ। खोजी अभियानमा ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ड्रोन र बोरेस्कोप क्यामराको प्रयोग भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा विशेषज्ञ गोताखोरसहित करिब १०० जना जनशक्ति पाँच दिनदेखि निरन्तर खोजी अभियानमा खटिएका छन्।