पोखरा, २३ असार २०८३।
इलाम घर भएकी एक युवती मलेशियामा मृत भेटिएकी छिन।
बैदेशिक रोजगारीका सिलशिलामा मलेशिया पुगेकी इलामको नाम्सालिङ–४, माइजोग्माईकी मञ्जु तामाङ मृत अवस्थामा भेटिएकी हुन्। तामाङको मृत्यु बारेमा मलेशियन प्रहरीले पुष्टि गरेको छ। तर उनको हत्या भएको हो कि स्वाभाविक मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
प्राप्त विवरणअनुसार मञ्जुको मृत्यु पछि पनि उनको मोबाइल फोन सक्रिय रहेको तथा परिवारसँग सन्देश (मेसेज) मार्फत संवाद भइरहेको दाबी गरिएकाले घटनालाई लिएर विभिन्न आशंका व्यक्त भइरहेका छन्। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि भइसकेको छैन।
यस घटनालाई गम्भीर रूपमा लिँदै नेपाली राजदूतावास, क्वालालम्पुरले घटनाको वास्तविकता पत्ता लगाउन तथा निष्पक्ष अनुसन्धानका लागि मलेसिया प्रहरीसँग औपचारिक रूपमा थप अनुसन्धान गर्न अनुरोध गरेको जनाएको छ।
परिवारका अनुसार मञ्जुले करिब एक साताअघि आफू गम्भीर समस्यामा परेको, १० हजार रिङ्गेट आवश्यक रहेको तथा आफू असुरक्षित महसुस गरिरहेको भन्दै नेपालस्थित परिवारसँग सम्पर्क गरेकी थिइन्।
घटनाको वास्तविक कारण भने मलेसिया प्रहरीको अनुसन्धानपछि मात्र स्पष्ट हुने भएकाले आधिकारिक निष्कर्ष नआउँदासम्म कुनै पनि अनुमान, अपुष्ट सूचना वा दाबीलाई सत्यका रूपमा नलिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
समाचार स्रोत : नेपाल मलेसिया अपडेट