धनगढी, २३ असार २०८३।
धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ निवासी २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायत रहेका छन्।
उनलाई भारततर्फ फरार हुने प्रयास गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार , तनुज असार १० गते घरबाट बेपत्ता भएका थिए। त्यसको दुई दिनपछि, असार १२ गते उनको शव स्थानीय बालिका सामुदायिक वनभित्र हत्या गरिएको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा बालकले कानमा लगाएको सुनको मुन्द्रा हराएको पाइएकाले लुटपाटको उद्देश्यले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। प्रहरीले मुख्य अभियुक्त पक्राउ परेकाले घटनाका थप तथ्य खुल्ने विश्वास व्यक्त गरेको छ।
यसअघि घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। आवश्यक अनुसन्धानपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।