डोल्पा, २१ असार २०८३।
डोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा शुक्रबार दिउँसो करिब १ः५० बजे अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक विवरणअनुसार, १४ जना सवार उक्त जिपमा बाँकी चालकसहित १३ जना घाइते भएका छन् घाइतेहरूको घटनास्थलबाट उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।
उद्धार कार्यका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै, घटनाबारे थप विवरण आउन बाँकी छ।