दुई सातादेखि सरकारी नियन्त्रणमा रहेका बिवाइडी चिनियाँ विद्युतीय सवारीसाधन फुकुवा

दुई सातादेखि सरकारी नियन्त्रणमा रहेका बिवाइडी चिनियाँ विद्युतीय सवारीसाधन फुकुवा


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 1.6K
    Shares

BYD गाडी फुकुवा

पोखरा, २ असार २०८३।

मुस्ताङमा दुई सातादेखि नियन्त्रणमा रहेका बिवाइडी कम्पनीका चिनियाँ विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षको जिम्मा लगाइएको जनाएको हो। सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमका अनुसार सबै सवारीसाधन केन्द्रीय निर्देशनपछि फुकुवा गरिएको हो।

गत जेठको दोस्रो र तेस्रो सातामा मुस्ताङस्थित कोरलानाका हुँदै बिवाइडी कम्पनीका कुल ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ सवारीसाधनले भन्सार जाँचपास पाइसकेको भन्सार विभाग अन्तर्गत मुस्ताङ भन्सार कार्यालय नेचुङले जनाएको छ।

पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरीले कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा ती सवारीसाधन नियन्त्रणमा लिएको थियो। यस क्रममा कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७ तथा मुस्ताङको जोमसोम र कोरलानाकामा गरी २६६ र ३९४ सवारीसाधन नियन्त्रणमा रहेका थिए।

कैफियतको विषयमा छानबिन गर्न अर्थ मन्त्रालयको समन्वयमा भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। प्रारम्भिक छानबिन प्रतिवेदनमा कोरलानाकाबाट भित्रिएका सवारीसाधनमा कुनै कैफियत नदेखिएको निष्कर्ष निकालिएको छ।

छानबिनपछि नियन्त्रणमा रहेका सबै सवारीसाधन सम्बन्धित पक्षलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। जोमसोम बसपार्कमा रहेका २६६ मध्ये आइतबार र सोमबार गरी २२३ सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् भने हाल ४३ सवारीसाधन मात्रै बाँकी रहेका छन्।

कोरलानाकामा रहेका भन्सार जाँचपास भएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाइने र बाँकी रहेका सवारीसाधनको भन्सार प्रक्रिया पूरा गरी सञ्चालनमा कुनै समस्या नरहेको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया