पोखरा, ३१ जेठ २०८३।
बाजुरा–हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली पुगेको छ। जेठ २७ गते मार्तडीबाट हिँडेको टोली शनिबार लाम्पाटा पुगेसँगै त्यहाँ अस्थायी संयुक्त सुरक्षा बेश स्थापना गरिएको छ।
सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना तथा प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरीसहित २८ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
गृह मन्त्रालयअन्तर्गत केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्न संयुक्त सुरक्षा उपस्थिति बढाइएको हो।
पछिल्लो एक महिनादेखि लाम्पाटा–रानीसैन क्षेत्रमा बाजुरा र हुम्लाका बासिन्दाबीच विवाद चर्किएको छ। यस क्रममा स्थानीय, जनप्रतिनिधि र कर्मचारीमाथि कुटपिट, दुर्व्यवहार तथा आगजनीका घटनासमेत भएका छन्। भोटे समुदायले सुरक्षा अभाव महसुस गर्दै तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गर्दै आएका छन्।