कैलालीमा वनका कर्मचारीको दानवीय रुप : जीविकोपार्जनको साधन टेम्पो भीरबाट खसालेर ध्वस्त

कैलालीमा वनका कर्मचारीको दानवीय रुप : जीविकोपार्जनको साधन टेम्पो भीरबाट खसालेर ध्वस्त


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा३१ जेठ २०८३।

कैलालीको धनगढीमा एक गरिब परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले भिरबाट खसालिदिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

उक्त भिडियो सामाजिक सञ्जाल भाइरल भएसंगै वनका कर्मचारीको चर्को बिरोध भैरहेको छ।

पीडित परिवारका अनुसार उनीहरूले सडक छेउमा पानी, चाउचाउ तथा अन्य सामान्य उपभोग्य सामग्री बिक्री गरेर आफ्नो दैनिक गुजारा चलाउँदै आएका थिए। उक्त व्यवसाय सञ्चालनका लागि प्रयोग हुँदै आएको टेम्पो नै परिवारको आम्दानीको प्रमुख स्रोत थियो। त्यही पनि डिभिजन वन कार्यालयका कर्मचारीहरूले भीरबाट खसालिदिएर ध्वस्त पारेपछि पिडित परिवारजन बिलखबन्दमा परेका छन्।

सामान हटाउन भनिएपछि आफूले टेम्पोमा रहेका सामान झारेर सुरक्षित रूपमा लैजान समय मागेको पीडित पक्षको भनाइ छ। परिवारका सदस्यहरूले हात जोडेर बिन्ती गर्दा पनि कर्मचारीहरूले नसुनेको र टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिदिएको आरोप लगाएका छन्।

टेम्पो भिरबाट खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। परिवारका सदस्यहरूका अनुसार वर्षौंको मेहनत र पसिनाले जोडेको सम्पत्ति एकैछिनमा नष्ट भएपछि उनीहरू अहिले आयआर्जनविहीन बन्न पुगेका छन्। दैनिक खर्च धान्नसमेत कठिन अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ।

स्थानीयवासीहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। उनीहरूले राज्यका निकायबाट गरिने कारबाही कानुनी प्रक्रिया र मानवीय संवेदनशीलताका आधारमा हुनुपर्ने धारणा राखेका छन्।

यता डिभिजन वन कार्यालय धनगढीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। घटनाबारे कार्यालयका जिम्मेवार अधिकारीसँग सम्पर्क गर्ने प्रयास भए पनि प्रतिक्रिया प्राप्त हुन नसकेको बताइएको छ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटनाले गरिब तथा विपन्न समुदायको जीविकोपार्जनसँग जोडिएका विषयमा सरकारी निकायहरूको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया