पोखरा, २८ जेठ २०८३।
सर्वोच्च अदालतले प्रदर्शनीमार्ग क्षेत्रमा शैक्षिक संस्था र अस्पतालको पठनपाठन तथा सेवामा असर पर्ने गरी सडक अवरोध हुने कुनै पनि सभा, जुलुस, आन्दोलन वा प्रदर्शन नगर्न आदेश दिएको छ।
नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले नियमित प्रदर्शनका कारण पढाइ प्रभावित भएको भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २०८२ पुस २३ गते यस्तो निर्देशनात्मक आदेश जारी गरेको हो। आदेशको पूर्णपाठ बिहीबार सार्वजनिक गरिएको छ।
अदालतले प्रदर्शनीमार्गमा रहेका नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, बाल्मिकी क्याम्पस तथा पदमोदय माविको पठनपाठन अवरुद्ध हुने गतिविधि नगर्न भनेको छ। साथै काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रलाई असर पर्ने गरी ध्वनि तथा वायु प्रदूषण हुने क्रियाकलाप नगर्न पनि निर्देशन दिएको छ।
त्यस्तै, भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको प्रदर्शनीस्थलमा सामाजिक, व्यावसायिक, शैक्षिक, बौद्धिक, सांस्कृतिक र पुरातात्त्विक प्रकृतिका प्रदर्शनीबाहेक अन्य सभा–सम्मेलन वा राजनीतिक कार्यक्रम गर्न नदिने गरी सीमित प्रकृतिका गतिविधि मात्र अनुमति दिन आदेश गरिएको छ।