पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले माग्यो थप पाँच दिन

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले माग्यो थप पाँच दिन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 2.8K
    Shares

पूर्वगृहमन्त्री सुधन गुरुङ

पोखरा, १८ जेठ २०८३।

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले थप पांच दिन माग गरेको छ। यसअघि सरकारले दिएको म्याद सोमबारदेखि सकिए पनि प्रतिवेदन तयार भइनसकेकाले समितिले ५ दिन थप गरिदिन माग गर्दै सरकारलाई पत्र पठाएको हो। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार म्याद थपका लागि  समितिको पत्र पुगिसकेको छ। तर यस विषयमा थप निर्णय भने औपचारिक रुपमा भइसकेको छैन।

पूर्वगृहमन्त्री सुधन गुरुङको बयान गत साता नै लिइएको थियो। यस्तै उनी विवादमा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको थियो। समितिले थप प्रमाण माग गर्दै पुनः पत्र पठाएको थियो। तर ती प्रमाण भने सबै संकलन भइसकेका छैनन्। 

गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।

समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानविन गरिरहेको छ।

एकपछि अर्को प्रश्नले घरिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए। 

चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा परेका थिए। उनीमाथि प्रश्न उठेका सबै विषयमा छानविन गर्न समितिलाई अधिकार दिइएको थियो। समितिले बुधबारदेखि प्रतिवेदन लेख्न सुरु गरे पनि सम्पन्न नभएकाले थप समय माग गरेको हो। 

प्रतिक्रिया