पोखरा, १२ जेठ २०८३।
काठमाण्डाैको गोकर्णेश्वर नगरपालिकास्थित विभिन्न वडाहरुमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ।
गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो।
ती वडाहरुमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ भने बर्ड फ्लु देखिएका क्षेत्रका पक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी सङ्क्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ ।
रोग फैलिन नदिन नगरपालिकाले पक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नैपरेमा अनिवार्य निःसङ्क्रमण गर्नुपर्ने नियम लागू गरेको छ ।
एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निःसङ्क्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ ।
